१२ असार, काठमाडौं । कर्णाली प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउने भएको छ ।
निवर्तमान मुख्यमन्त्री यामलाल कँडेलले शनिबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख यज्ञराज जोशीले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत दाबी गर्न आज साँझ ५ बजेसम्मको समयसीमा दिएका छन् । केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमतिअनुसार कर्णालीको नेतृत्व कांग्रेसको भागमा परेकाले संसदीय दलका नेता मङ्गलबहादुर शाहीले नयाँ मुख्यमन्त्रीका रूपमा दाबी पेस गर्ने तयारी गरेका छन् ।
शीर्ष नेतृत्वसँगको परामर्शपछि काठमाडौँबाट सुर्खेत फर्किएका शाहीले सत्ता साझेदार दलहरूसँग छलफल तीव्र बनाएका छन् ।
यद्यपि, दाबी पेस गर्ने अन्तिम दिन भइसक्दा पनि प्रदेश प्रमुखको कार्यालयमा औपचारिक जानकारी भने गराइसकिएको छैन । सम्पूर्ण प्रक्रिया पूरा भएपछि शाही आजै कर्णाली प्रदेशको पाँचौँ मुख्यमन्त्रीका रूपमा नियुक्त हुने निश्चितप्रायः छ ।




















