Logo

२२ असोज, चितवन । २०७४ को चुनावमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जितेको चितवन निर्वाचन क्षेत्र ३ मा माओवादी केन्द्रले डा. भोजराज अधिकारीलाई उम्मेदवार बनाउने भएको छ ।

भरतपुर अस्पतालको अध्यक्ष रहेका डा. अधिकारीलाई प्रचण्डले छाडेको चितवन-३ बाट उम्मेदवार बनाउने तयारी माओवादीको छ । डा। अधिकारीलाई प्रचण्डले फोन गरेर उम्मेदवारी दर्ताको तयारीका लागि कागजात जुटाउन भनेका छन् । ‘अध्यक्षले फोन गरेर तपाईं नै उम्मेदवार हो, तयारी गर्न भन्नुभएको छ’, डा. अधिकारीले भने, ‘त्यसका लागि डकुमेन्ट जुटाउँदैछु ।’

सो निर्वाचन क्षेत्र सत्ता गठवन्धनका तर्फबाट माओवादीको भागमा परेको छ । यो क्षेत्रमा माओवादीका तर्फबाट भरपर्दो उम्मेदवार नपाएपछि डा। अधिकारीलाई अस्पतालको अध्यक्ष पदबाट राजीनामा गराएर उम्मेदवार बनाउन लागिएको हो ।

पश्चिम चितवनको पटिहानी घर भएका डा। अधिकारी भरतपुर अस्पतालमा अध्यक्ष हुनुअघि मेडिकल अफिसरका रूपमा कार्यरत थिए । माओवादीले चितवन-३ को (ख) मा माडी नगरपालिकाका पूर्व मेयर ठाकुर ढकाललाई उठाउने भएको छ ।


सम्बन्धित समाचार