Logo

५ कार्तिक, वीरगञ्ज ।

देशको मुख्य आर्थिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७९/८० को लगातार तेस्रो महिनामा लक्ष्यअनुसार राजश्व उठाउन असफल भएको छ।
वीरगञ्ज भन्सार कार्यालयले बितेको असोज मसान्तमा पनि लक्ष्यअनुसार राजश्व उठाउन नसकेपछि लगातार तीन महिनासम्म लक्ष्य पूरा गर्न असफल भएको हो।

वीरगञ्ज भन्सार कार्यालयले जारी गरेको तथ्यांकअनुसार यस कार्यालयले चालु आवको असोज महिनामा १२ अर्ब ४९ करोड ३८ लाख ८३ हजार राजश्व संकलन गरेको छ।यो लक्ष्यको ५७ दशमलव १ प्रतिशतमात्रै हो।

भन्सार विभागबाट असोज महिनामा वीरगञ्ज भन्सार कार्यालयले २१ अर्ब ८८ करोड ३३ लाख ६८ हजार राजश्व संकलन गने लक्ष्य पाएको थियो। यस आँकडाअनुसार भन्सार कार्यालयले असोज महिनामा लक्ष्यभन्दा ४२ दशमलव ९ प्रतिशत कम राजश्व संकलन गरेको छ।

गत आवको असोज महिनामा भने वीरगञ्ज भन्सारले १ सय २० दशमलव ५ प्रतिशत राजश्व संकलन गरेको थियो। यसअघि चालु आवको पहिलो दुई महिना साउन र भदौमा पनि वीरगञ्ज भन्सार कार्यालयले लक्ष्य पुरा गर्न सकेको थिएन।

चालु आवको साउनमा वीरगञ्ज भन्सारले लक्ष्यभन्दा १४ दशमलव ५ प्रतिशत कम राजश्व संकलन गरेको थियो। यो महिनामा भन्सार विभागबाट पाएको कुल १५ अर्ब २० करोड ७ लाख ५५ हजार लक्ष्य पाएकोमा जम्मा १२ अर्ब ९८ करोड ९९ लाख २३ हजार मात्रै राजश्व संकलन गरेको थियो। जुन लक्ष्यको ८५ दशमलव ५ प्रतिशत मात्रै थियो।
यसैगरी, भदौ महिनामा पनि वीरगञ्ज भन्सार कार्यालयले लक्ष्य पूरा गर्न असफल भएको थियो। भदौ महिनामा विभागबाट १९ अर्ब २९ करोड ४५ लाख ७६ हजार राजश्व संकलन गर्ने लक्ष्य पाएकोमा जम्मा १४ अर्ब १४ करोड २५ लाख १३ हजार मात्रै राजश्व संकलन गरेको थियो।

यो महिनामा वीरगञ्ज भन्सारले ७३ प्रतिशत राजश्व उठाएको थियो भने २७ प्रतिशत कम राजश्व उठाएको थियो। देशकै प्रमुख आर्थिक नाका वीरगञ्ज भन्सारले लगातार तीन महिनामा लक्ष्यअनुसार राजश्व उठाउन नसक्नुको मुख्य कारण सरकारले पछिल्लो समय आयातमा गरेको कडाइ रहेको भन्सार अधिकारी बताउँछन्। पछिल्लो समय सरकारले गाडी, मोटरसाइकल, मदिरालगायतका वस्तुहरूमा निरन्तर बन्देज लगाएको छ।

वीरगञ्ज भन्सार कार्यालयबाट चालु आवको तीन महिनाको अवधिमा आयात÷निर्यात दुवै घटेको छ। तर, व्यापार घाटा भने बढेको वीरगञ्ज भन्सार कार्यालयले जारी गरेको तथ्यांकमा जनाइएको छ । जारी तथ्यांकअनुसार चालु आवको तीन महिनाको अवधिमा नेपालमा एक खर्ब ४८ अर्ब ३६ करोड ५५ लाख १२ हजार मूल्य बराबरको वस्तुहरू आयात भएको छ। यो गत आवको यही अवधिको तुलनामा ११ दशमलव १ प्रतिशतले कम हो।

गत आवको यही अवधिमा भने नेपालमा एक खर्ब ६६ अर्ब ९० करोड ९६ लाख ८८ हजार बराबरको वस्तुहरू आयात भएको थियो। यस्तै वीरगञ्ज नाका भएर तीन महिनाको अवधिमा निर्यात पनि ६६ दशमलव १ प्रतिशतले घटेको छ। यस अवधिमा नेपालले विदेशमा यो नाका भएर १० अर्ब ७१ करोड ९८ लाख ८२ हजार बराबरको वस्तुहरू निर्यात गरेको छ।

जबकि गत आवको यही अवधिमा नेपालले ३१ अर्ब ६६ करोड ७६ लाख ४२ हजार बराबरको वस्तुहरू विदेशमा निर्यात गरेको थियो।चालु आवको पहिलो तीन महिनामा यो नाका भएर नेपाललाई हुने व्यापार घाटा भने एक दशमलव ८ प्रतिशतले बढेको छ।

तीन महिनाको अवधिमा यो नाका भएर एक खर्ब ३७ अर्ब ६४ करोड ५६ लाख ३० हजार बराबरको व्यापार घाटा भएको छ। जबकि गत आवको यही अवधिमा नेपाललाई एक खर्ब ३५ अर्ब २४ करोड २० लाख ४६ हजार बराबरको व्यापार घाटा मात्रै भएको वीरगञ्ज भन्सार कार्यालयले जारी गरेको तथ्यांकमा उल्लेख छ।


सम्बन्धित समाचार