Logo

१७ मंसिर, वीरगन्ज । चुनाव सकिएपछि निर्वाचनमा अन्तरघात गरेको भन्दै नेकपा एमाले पर्साले पार्टीका केन्द्रीय सदस्य एंव पर्सा जिल्ला इन्चार्ज प्रभु हजारा र प्रदेश कमिटि सदस्य बसुरुद्दिन अंसारी सहित १६ जनालाई पार्टीबाट निष्कासन गर्न केन्द्रमा सिफारीस गरेको छ ।

एमालेका केन्द्रीय सदस्य हजाराले आफ्नै विशेष उपस्थितीमा राखेको जिल्लाको सचिवालयको बैठकमा आफैलाई कार्वाही गर्न केन्द्रमा सिफारीस गर्ने निर्णय गरेपछि एमाले पर्सा भित्रको गाइजात्रा सार्वजनिक भएको हो ।

मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य एवम् प्रदेश सभा सदस्य निर्वाचनको नतिजालाई लिएर नेकपा एमाले पर्सामा एकले अर्कोलाई अन्तर्घात गरेको आरोप लगाउदै पार्टीले उठाएको उम्मेदवारका विरुद्ध बागी उठ्ने र अन्तरघात गर्ने नेता तथा कार्यकर्तालाई कार्वाही गरेको हो ।

निर्वाचन समीक्षा गर्न बसेको एमाले सचिवालय कमिटी बैठकले अन्तर्घात र बागी उठ्नेहरुलाई साधारण सदस्य नरहने गरी पार्टीबाट निष्कासन गरी कारबाही गरेको जिल्ला कमिटी अध्यक्ष जयप्रकाश थारूले बताए ।

अधिकांश क्षेत्रहरूमा अन्तर्घात भएको कारण पार्टीले हार व्यहोर्नुपरेको ठहर गर्दै केन्द्रीय पार्टीको निर्देशनमा अनुशासन विपरित गतिविधि गर्नेलाई कारबाही गरेको हो । कारबाही पर्नेहरुमा संगठित सदस्य , प्रदेश कमिटी सदस्यदेखि केन्द्रिय सदस्य समेत रहेको छन् ।

जिल्ला कमिटी अध्यक्ष थारुको अध्यक्षता एवं केन्द्रिय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजारको प्रमुख आतिथ्यमा बसेको सचिवालयको बैठकले पार्टीले गठन गरेको छानविन समितिले सिफारिश गरेको आधारमा अनुसन्धान गरी कारबाही गरेको जनाएको छ ।

बैठकले प्रतिनिधि सभा सदस्य एवं प्रदेश सभा सदस्य निर्वाचनमा अन्तर्घात गर्ने केन्द्रिय सदस्य एवं पर्सा जिल्ला इन्चार्ज प्रभु हजार र प्रदेश कमिटी सदस्य बसरुद्दिन अन्सारीलाई साधारण सदस्य समेत नरहने गरी कारबाहीका लागि पार्टीको केन्द्रीय कार्यालय र प्रदेश कमिटीमा सिफारिश गरेको पर्सा अध्यक्ष जयप्रकाश थारुले बताए ।

पार्टीको तर्फबाट उमेदवार बनेका प्रतिनिधिसभा तथा प्रदेस सभासदस्य पदका उमेदवारको हारको विषयमा जिल्ला कमिटीले बनाएको छानविन समितिले दिएको प्रतिवेदनको आधारमा कारबाहीको लागि केन्द्रिय र प्रदेश कमिटीमा पठाएको थरुको भनाई छ ।

सचिवालय कमिटीको बैठकले पार्टीको साधारण सदस्य समेत नरहने गरी कार्वाहीमा परेकाहरुमा पार्टीका जिल्ला सचिव एंव छिपहरमाई गाउँपालिकका अध्यक्ष मनोज गुप्ता, पर्सा जिल्ला सचिवालय सदस्य एवं सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष यसवन्त यादव, गाउँपालिका कमिटी अध्यक्ष एवं वडा अध्यक्ष वासुदेव महत्तो थारु, जिल्ला कमिटि सदस्य ताजदिन अंसारी, जिल्ला कमिटी सदस्यहरु इमरान हुसेन, मंजूर आलम, पवन तिवारी, सुबास साह कानु, वीरेन्द्र साह कानु, रामप्रित महतो थारु र अमानत अंसारी रहेका छन् ।

त्यसैगरी छिपहरमाई गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष मौजीलाल साह कानु, पूर्व जिल्ला कमिटि सदस्य मुस्तकीम अंसारी र नविजान मियाँलाई आजै देखि लागु हुनेगरी पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको एमाले पर्साले जनाएको छ ।

यस्तै उक्त सचिवालयको बैठकले पार्टीको निर्देशन विपरित काम गर्ने २६ लाई स्पष्टीकरण सोधेको छ । यसरी स्पष्टीकरण सोध्नेमा वीरगञ्ज महानगर कमिटिका उपाध्यक्ष महेश दास, नरेस टिवडेवाल, आमोद यादव, वीरगञ्ज महानगरपालिका वडा नंं. १७ का वडा अध्यक्ष संजिब बहादुर छत्कुली, विश्वराज कुर्मी, जितेन्द्र पटेल, सम्सुदिन अंसारी, सुनिल कुशवाहा, रामबाबु साह, प्रमोद यादव, महादेव साह कलवार, इनरदेव चौधरी, रामनाथ चौधरी, रामराज यादव, जिल्ला कमिटि सदस्यहरु हरिनारायण चौधरी, रामेश्वर साह कानु, फरिन्द्र कुशवाहा, जितेन्द्र साह कलवार, नाजिर मियाँ, गौरी शंकर साह कानु, महेन्द्र साह कलवार, विनोद साह कानु, विश्वेश्वर यादव, कुरान अलि, फुलमहमद मियाँ, रियाजुल मियाँ, र ठोरी गाउँपालिका कमिटिका अध्यक्ष खगेन्द्र बहादुर श्रेष्ठसहित पालिका कमिटीलाई पनि स्पषटीकरण सोधेको छ ।

उक्त बैठकमा एमालेका केन्द्रीय सदस्य एंव पर्सा इन्चार्ज प्रभु हजरा, केन्द्रीय सदस्यहरु राजकुमार गुप्ता, अरविन्द सिंह र निर्मला देवकोटाको उपस्थिती रहेको थियो ।


सम्बन्धित समाचार