Logo

२१ साउन, वीरगञ्ज । बाराबाट प्रहरीले १२ लाख मूल्यभन्दा बढीका सामानसहितको ट्रक नियन्त्रणमा लिएको छ । जिल्लाका फरकफरक स्थानहरुमा प्रहरीले चलाएको जाँच अभियानका क्रममा १२ लाख ३३ हजार ५ सय मूल्यका सामानसहितको ट्रक नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय अमलेखगञ्जको टोलीले जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ बाट मोबाइल डिस्प्ले बरामद गरेको जनाएको छ । वीरगञ्जबाट नारायणगढतर्फ जाँदै गरेको बा ३ ख ४९८६ नम्बरको यात्रुबाहक बसबाट ७ लाख ३३ हजार ५०० मूल्य बराबरका ४८९ पिस मोबाइल डिस्प्ले बरामद गरेको प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले बताए ।

यस्तै प्रहरी चौकी पथलैयाबाट खटिएको टोलीले रौतहटबाट कास्कीतर्फ जाँदै गरेको ट्रक पक्राउ गरेको उनले बताए । जितपुरसिमरा–१ पथलैया चोकस्थित जाँच गर्दा प्र २–०३–००१ ख ०९५६ नम्बरको उक्त ट्रकबाट बिल बिजकभन्दा बढी प्याज लोड रहेकोले नियन्त्रणमा लिएको उनको भनाइ छ । उनका अनुसार ट्रकबाट ५ लाख मूल्य बराबरका एक हजार किलोग्राम प्याज बरामद भएको हो ।

बरामद सामानसहित ट्रकलाइ आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयाबाट पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


सम्बन्धित समाचार