Logo

घटना संलग्न प्रमोद राम

११ पुस, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले हत्यामा संलग्न रहेको आरोपमा एक जनालाई सार्वजनिक गरेको छ । शिबपुजन यादवको हत्याको आरोपमा भारत मोतिहारी जिल्ला अन्र्तगत पर्ने घोडासहन थाना सेखावना ग्राम पञ्चायत वडा नं. १ सेखावना टोल बस्ने ३८ वर्षीय प्रमोद रामलाई सार्वजनिक गरेको हो ।

घटना भएको तीन दिनपछि सोमबार जिल्ला प्रहरी कार्यालय बारामा पत्रकार सम्मेलनको आयोजना गरी प्रहरीले उनलाई सार्वजनिक गरेको थियो । उनीसँग लिएको बयानको आधारमा उनी शिवपुजनको सूचना संकलनका लागि खटिएको व्यक्ति भएको दावी प्रहरीको छ ।

घटनामा संलग्न अभियुक्त सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक होबिन्द्र बोगटी                                                                                            तश्विर : बिशाल पटेल/रेसखबर

२०७९ पुस ८ गते शुक्रबार साँझ ५ः ३५ बजे बारामा एक जनालाई गोली प्रहार भएको घटना सार्वजनिक भयो । भारत बिहार राज्यको मोतीहारी जिल्ला अन्र्तगत पर्ने दार्पा थाना दार्पा ग्राम पञ्चायत वडा नं.१४ पिप्रा टोल घर भएका ४५ वर्षीय शिवपुजन राय यादवको छात्तीमा गोली लागेको थियो ।

बाराको महागढीमाई नगरपालिका वडा नं.२ भुतही पुल नजिकैको खाजा नास्ता होटलमा उनी माथि गोली प्रहार भएको थियो । नम्बर नखुलेको भारतीय नम्बर प्लेट भएको मोटरसाईकलमा आएका दुई जना अपरिचित व्यक्तिले गोली हानेर भागेका थिए । गोली लागेर गम्भिर घाईते भएका शिवपुजनलाई एलएस न्युरो अस्पताल परवानीपुरमा उपचारका लागि ल्याईयो । उपचारको क्रममा सोही दिन ६ः३५ बजे अस्पतालले उनलाई मृतक घोषित ग¥यो ।

शिवपुजनको हत्या उनकै आफन्तको योजनामा भएको रहस्य खुलेको छ । प्रहरीले अनुसन्धानको क्रममा घटना भएकै दिन केहि व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । त्यसक्रममा उनको हत्या काकाको छोरा दिनेश यादवको योजनामा भएको पत्ता लागेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराले दिएको जानकारी अनुसार शिवपुजनले गत २०७८ चैत २० गते जग्गा विवादका कारण काकाको छोरा छौडादानो ग्राम पञ्चायतका उप प्रमुख रमेश यादवलाई गोली हानेर फरार भएका थिए । गोली प्रहारबाट गम्भिर घाईते भएका रमेशको उपचारको क्रममा मृत्यु भएको थियो ।

उनी विरुद्ध बिहार राज्यको मोतिहारी जिल्ला अन्र्तगत पर्ने महुअवा थानामा २०७९ भदौ २१ गते (सन् २०२१ सेप्टेम्बर ६) मा डकैती र भदौ २७ गते (सेप्टेम्बर १२) मा डकैती योजना मुद्धा, छौडादानो थानामा सन् २०२२ अप्रील २ मा अपराधिक षडयन्त्र मुद्धा लगायतका मुद्धामा संलग्न रहेको प्रहरीले पत्ता लगाएको छ ।

भारतीय प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका शिवपुजन भारतीय आतंकवादी समूह नसलाईट पार्टीको नेता समेत रहीसकेको पाईएको प्रहरीले जनाएको छ । उनी भारतीय प्रहरीको आँखा छलेर पुस ७ गते मात्रै भारतबाट नेपाल प्रवेश गरेका थिए ।

छौडादानो ग्राम पञ्चायतका तत्कालिन उपप्रमुख रमेशका भाई दिनेश दाईको हत्या गर्ने शिवपुजनसँग बदला लिन चाहान्थे । सोही योजना अनुसार डेढ महिना पहिले दिनेश र प्रमोदको भेट भएको थियो ।

उनीहरुबीच प्रमोदले सूचना दिने र दिनेशले सुटर पठाउने बारे छलफल भयो । सूचना दिनका लागि प्रमोदले भारु ६० हजार रुपियाँ बुझेका थिए । सहमति अनुसार नै १० दिनदेखि प्रमोद शिवपुजनको पछि लागेर सूचना संकलन गरिरहेका थिए । शिवपुजन र प्रमोदको तीन महिनादेखि चिनाजानी थियो ।

त्यसैको फाईदा प्रमोदले उठाईरहेका थिए । घटना भएको दिन पुस ८ गते बिहान पनि प्रमोदले मृतक शिवपुजनलाई पटक पटक फोन गरेका थिए । तर त्यतिखेर शिवपुजनले फोन उठाएनन् । दिउँसो २ बजेतिर शिवपुजनले प्रमोदलाई फोन फर्काएका थिए । प्रमोदको सुटरसँग पटक पटक फोनमा कुरा भएको कल विवरणबाट प्रहरीले पत्ता लगाएको छ ।

घटनाको दिन साँझ ४ः२० बजे प्रमोदले शिवपुजनलाई फोन गरे लगत्तै सुटरलाई फोन गरेर भुतही चोकको लोकेसन दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । अभियुक्त प्रमोद विरुद्ध पनि मोतिहारी थाना लगायत भारतका विभिन्न थानामा अपहरण लगायत ३ वटा मुद्धा दर्ता रहेको प्रहरीको दावी छ ।

अनाधिकृत सीमकार्ड र भारतीय नम्वरका मोटरसाइकल सुरक्षा चुनौती

गोली लागेर गम्भिर घाईते भएका शिवपुजनको मृत्यु भयो कि भएन ? भनेर हेर्न पुगेका प्रमोदलाई प्रहरीले अस्पतालबाटै पक्राउ ग¥यो । तर मुख्य योजनाकार दिनेश सुटर, लगायतका अभियुक्त अझै फरार छन् ।

मृतकका आफन्तले ६ जना विरुद्ध किटानी जाहेरी दिएका छन् । जसमध्ये ५ जना घटनामा प्रत्यक्ष संलग्न रहेको प्रहरीको भनाई छ । घटनामा संलग्न व्यक्तिहरुको मोबाईल नम्बर पहिचान गरेर भारतीय प्रहरीसँग समन्वय गरी थप अनुसन्धान भईरहेको बाराका प्रहरी प्रमुख होबिन्द्र बोगटीले बताए ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक बोगटीले प्रमोदले सूचना संकलन गरेर सुटरलाई गोली हान्न सघाएको दावी गरे । ‘शिवपुजनसँग चिया नास्ता पसलमा बरियारपुरका आफन्त थिए, वरपरको टेबलमा चिया खान आएका अरु मानिसहरु थिए ।’ उनले भने ‘पक्राउ परेका प्रमोदले शिवपुजनको हात समातेर गोली हान्न सहयोग गरेको देखिएको छ ।’

उनले अनाधिकृत रुपमा वितरण गरिने सीम कार्ड र दर्ता नगरी गुडाईने भारतीय नम्बर प्लेटका मोटरसाईकलले गर्दा सीमा क्षेत्रमा सुरक्षा चुनौती बढेको बताए । गोली हानी हत्याको घटना घट्नु प्रहरीका लागि चुनौति भएको बताउँदै उनले घटना घटिसकेपछि कति छिटो अभियुक्तलाई पक्राउ गरेर कानूनी दायरामा ल्यायो भन्ने विषय पनि महत्वपूर्ण हुने बताए ।


सम्बन्धित समाचार