Logo

४ माघ, जनकपुर । मधेस प्रदेश सभाका नवनिर्वाचित सभामुख रामचन्द्र मण्डल र उपसभामुख बबिताकुमारी राउत इसरले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।

बुधबार बिहान मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रले सभामुख मण्डल र सभामुख मण्डलले उपसभामुख इसरलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

उपसभामुख इसरले भने हिन्दी भाषामा शपथ लिएकी थिइन् । शपथग्रहण समारोहमा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, मन्त्रीहरूसहितको सहभागिता थियो।

गत मंगलबार बसेको प्रदेश सभा बैठकमा मण्डललाई सभामुखमा चयन गरियोस् भन्ने प्रस्तावको पक्षमा ७४ मत अर्थात् बहुमत सदस्यको समर्थन प्राप्त भएको थियो।

कुल एक सय सात सदस्यीय प्रदेश सभामा एक सय तीनजनाले मतविभाजन प्रक्रियामा सहभागिता जनाएका थिए। मण्डललाई सत्तागठबन्धन दल एमाले, जसपा, माओवादी केन्द्र, जनमत, लोसपा, राप्रपा, नेपाल संघीय समाजवादी पार्टी र स्वतन्त्र संसादहरूको समर्थन थियो।

प्रदेशमा एमालेका २३, कांग्रेसका २२, जसपाका १६, जनमतका १३, माओवादीका सात, लोसपाका नौ, नेकपा एकीकृत समाजवादीका सात, राप्रपाका एक, नेपाल संघीय समाजवादीका एक र स्वतन्त्र पाँचजना सांसदहरू निर्वाचित भएका छन्।

प्रदेश सभाका सभाध्यक्ष (ज्येष्ठ सदस्य) गोविन्दबहादुर न्यौपानेले भने मतविभाजन प्रक्रियामा सहभागिता जनाउनुभएन। सभामुखमा चयन हुन ५२ मत आवश्यक रहेकोमा मण्डलको पक्षमा ७४ मत परेको थियो। उनको विपक्षमा २९ मत खसेको थियो।

यसैगरी जनमत पार्टीकी उम्मेदवार बबिताकुमारी राउत इसरलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने पक्षमा ७२ मत प्राप्त भएको थियो। उनको विपक्षमा २९ मत खसेको थियो। उपसभामुखको निर्वाचन प्रक्रियामा एक सय एक सांसदले सहभागिता जनाएका थिए।


सम्बन्धित समाचार