Logo

२ फागुन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा भएको सवारी दुर्घटनामा १८ महिने शिशुको मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं. १० पानीट्यांकी बस्ने राजिव कुमार मालीको १८ महिने छोरा रिशव मालीको मृत्यु भएको हो । ईरिक्सा पल्टिएर भएको दुर्घटनामा परेर राजिव पनि घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारी अनुसार दिउँसो ३ बजे वीरगञ्ज महानगरपालिका वडा नं. १० टाउनहल नजिकै सडकखण्डमा ना. १ ह ३७४० नम्बरको ई–रिक्सा घुम्तिमा अनियन्त्रित भई पल्टिएको थियो ।

ईरिक्सामा सवार राजिव र उनको १८ महिने छोरा रिशव मालीको टाउको तथा नाकमा चोट लागेको थियो ।

प्रहरी चौकी आदर्शनगरबाट खटिएको प्रहरी टोलीले घाइते दुवै जनालाई उपचारको लागि एडभान्स अस्पतालमा लगेको थियो ।

उपचारका क्रममा घाइते मध्ये रिशवको नाकबाट रगत बग्न बन्द नभएपछि थप उपचारका लागि नेशनल मेडिकल कलेज वीरगञ्जमा लगिएको थियो ।

उनको नेशनल मेडिकल कलेजमै उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
प्रहरीले वीरगञ्ज–१० आदर्शनगर बस्ने ३५ वर्षीय राम सुन्दर दास तत्मालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।


सम्बन्धित समाचार