Logo

सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादव र छिपहरमाई गाउँपालिका प्रमुख मनोज गुप्ता

५ फागुन, वीरगञ्ज । नेकपा एमाले मधेश प्रदेश सचिवालयले पर्सा जिल्ला कमिटी बिघटन गरेको छ । दुई गाउँपालिका प्रमुखलाई समेत पार्टीबाट ३ महिनाको लागि निलम्वन गरेको छ ।

मधेस प्रदेश कमिटिको बिहीबार बसेको बैठकले मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा पार्टीको हित विपरीत गतिबिधि गरेको आरोपमा दुई पालिका प्रमुख सहित केही नेता कार्यकर्तालाई कारबाही गरेको हो ।

बैठकले एमाले पर्साको अधिवेशन वैशाख १७ र १८ गते सम्पन्न गर्न केन्द्रिय सल्लाहकार परिषद् सदस्य डा. बिश्वम्भर शर्माको नेतृत्वमा सम्मेलन आयोजक समिति गठन गरेको छ । समितिलाई पार्टी प्रतिनिधिहरुको टुङ्गो लगाई एमाले पर्साको अधिवेशन सम्पन्न गर्न जिम्मा दिइएको एमाले मधेस प्रदेश कमिटीले जनाएको छ ।

नेकपा एमाले पर्साको ८ औं जिल्ला अधिवेशनले संविधानसभा सदस्य जयप्रकाश थारुको अध्यक्षतामा १३५ सदस्यीय जिल्ला कमिटी गठन गरेको थियो । सर्वसम्मतिले जिल्ला कमिटी गठन गरिएको भनिए पनि केहि नेताले असन्तुष्टी जनाएका थिए । जयप्रकाश थारुले नेतृत्व गर्न नसकेको आरोप लगाउदै जिल्ला कमिटि विघटन गरेको हो ।

पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव, छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ता, सखुवाप्रसौनी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष वासुदेव चौधरी, नेकपा एमाले मधेस प्रदेश कमिटिका सदस्य वसरुदिन अन्सारी, रामपृत थारु लगायतका नेतालाई ३ महिनाका लागि पार्टीबाट निलम्बन गरेको एक प्रदेश कमिटी सदस्यले जानकारी दिएका छन् ।

प्रतिनिधीसभा सदस्यको निर्वाचनमा असहयोग गरेको भन्दै सांसद राजकुमार गुप्ताको दवावमा छिपहरमाइ गाउँपालिका प्रमुख मनोज गुप्ता र सखुवा प्रसौनी गाँउपालिका प्रमुख जयवन्त यादवलाई कार्वाही गरिएको नेकपा एमालेका एक जना प्रदेश कमिटि सदस्यले बताए । सांसद गुप्ताले जसवन्त यादवको सहयोगमा चुनाव जितेपनि उनलाई हैसियत देखाउन कार्वाही गरेको एमाले पर्सा भित्र चर्चा चलेको छ ।

एमाले मधेस प्रदेश इन्चार्ज रघुवीर महासेठले निर्वाचनमा पार्टी नीति विपरीत काम गर्ने पर्साका केहि नेतालाई कारबाही गरिएकोे जानकारी दिए ।


सम्बन्धित समाचार