Logo

६ फागुन, वीरगञ्ज । महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ ।

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा(आराधना गरी आज देशभर मनाउन लागिएको हो ।

पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले बताउँछन् ।

वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराण लगायतका ग्रन्थमा उल्लेखित छ ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।

माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झारहरू उनै महादेवको शिवत्व (जगत्को कल्याण गर्ने तत्व)ले गर्दा फागुनमा पलाउन थाल्ने हुनाले शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ ।

व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।

आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।

महाशिवरात्री एवं नेपाली सेनाको २६० औं वार्षिकोत्सवको अवसरमा श्रीजंग गण वीरगञ्जले आदर्शनगर स्थित पुरानो बसपार्कमा फोटो तथा वृत्तचित्र प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको श्रीजंग गणले जनाएको छ । दिउँसो १ बजेदेखि नेपाली सेनाको ईतिहास झल्कने फोटो तथा वृत्त चित्र प्रदर्शनी गरिने श्रीपुर ब्यारेकका गणपति डायमण्ड कार्कीले जानकारी दिए । नेपाली सेनाका जवानहरुले नै देखाउने साँस्कृतिक कार्यक्रम राष्ट्रियताको भाव जगाउने खालको हुने उनको भनाई छ । आम सर्वसाधरणले समेत कार्यक्रम स्थलमा प्रवेश गरेर फोटो तथा वृत्त चित्र हेर्नुको साथै साँस्कृतिक कार्यक्रमको मनोरञ्जन लिन सकिने नेपाली सेनाले जनाएको छ ।

वीरगञ्ज स्थित अजगैबी नाथ शिव मन्दिर मालपोत चौक छपकैया मा शिवरात्रीको तयारी गरिएको छ । आज बिहान कलश यात्रा निकालिएको छ । विशेष पुजा, शिवधुनी, विशेष सन्ध्या आरती , सन्ध्या भजन किर्तन र भण्डारा प्रसाद वितरण आयोजकले जनाएका छन् ।

यसैबीच महाशिवरात्रीको अवसरमा बाराको कलैया स्थित सिद्धेश्वरनाथ महादेव मन्दिरमा अखण्ड रुद्राभिषेक, दुर्गापाठ, हवन र विशेष त्रिकाल शिवश्रृंगार पुजन तथा मेला लगाइएको छ । शिवरात्रीको पुजा र मेलालाई व्यवस्थित गर्न अतिथि सत्कार, मेला सञ्चालन तथा व्यवस्थापन, सरसफाई, पुजा व्यवस्थापन, पगडी बाँध्ने, प्रसाद वितरण, बोलबम तिर्थयात्रीको व्यवस्थापन तथा दाउरा वितरण उपसमितिहरु गठन गरिएको छ ।

बाराको कोल्हबी नगरपालिका १० अमावस्थित अम्बेश्वरनाथ मन्दिरमा आजदेखि महाशिवरात्री मेला लागेको छ । अम्बेश्वर महादेव मेला समितिको आयोजनामा फाल्गुन ५ गतेदेखि ७ गतेसम्म मेला लागेको हो । मेलामा बारा, पर्सा, रौतहटलगायतका विभिन्न स्थानबाट भक्तालुहरु पुग्ने समितिले जनाएको छ । मेलामा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमको समेत आयोजना हुने मेला आयोजक समितिले जनाएको छ ।


सम्बन्धित समाचार