१ भदौ, काठमाडौं। काठमाडौँ महानगरपालिका–२६ स्थित गोङ्गबुको गेस्ट हाउसमा पत्नीको हत्या गरेर फरार रहेका एक युवकलाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ। पक्राउ पर्ने युवक काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका घर भएका सन्तोष सेन्चुरी हुन्।
उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई पर्साबाट पक्राउ गरी काठमाडौं ल्याउँदै गरेको जनाएको छ। सञ्चालित प्रारम्भिक अनुसन्धान अनुसार, सेन्चुरीले साउन २७ गते गोङ्गबुस्थित कञ्चन कोशी होटल एन्ड लज मा २७ वर्षीया पत्नी ललिता विकलाई “घुम्न जाऊँ“ भनेर लगेर हत्या गरेका थिए।
हत्या गरी शवलाई बक्स पलङमुनि लुकाएर उनी त्यहाँबाट फरार भएका थिए। घटनालाई ढाकछोप गर्न उनले साउन २८ गते प्रहरी वृत्त महाराजगञ्जमा “मानिस हराएको“ भन्दै हुलिया विवरणसमेत दिँदै निवेदन दर्ता गराएका थिए।
तर, साउन ३० गते राति गेस्ट हाउसबाट दुर्गन्ध आउन थालेपछि प्रहरी टोलीले जाँच गर्दा बक्सभित्र शव फेला परेको थियो। त्यसपछि उनी फरार भएका थिए र पर्सा पुगेको सूचनाका आधारमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
उनीमाथि थप अनुसन्धान अघि बढाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले जानकारी दिएका छन्।

















