Logo

१ भदौ,कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–७ की एक महिला १० महिनाकी छोरीसहित झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्। २९ साउनदेखि बेपत्ता रहेकी २१ वर्षीया आरतीकुमारी डगौरा र उनकी छोरी अनुजा चौधरीको शव शनिबार घर नजिकैको सामुदायिक वनमा फेला परेको हो।

इलाका प्रहरी कार्यालय सुखडका अनुसार, गौरीशंकर सामुदायिक वनमा एउटै रूखमा फरक–फरक पासोमा झुन्डिएको अवस्थामा आमा–छोरीको शव भेटिएको हो।

प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशदत्त अवस्थीले घटनास्थलको प्रारम्भिक विवरण दिँदै भने, “दुबै जनाको शव एउटै रूखमा झुन्डिएको अवस्थामा फेला परेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।”

आरती डगौरा २९ साउनमा छोरीसहित घरबाट बेपत्ता भएकी थिइन्। परिवारले बेपत्ताको सूचना प्रहरीलाई दिएपछि खोजीकार्य भइरहेको थियो।

मृतक डगौरा श्रीमान्, सासू, देवर र देउरानीसँगै बस्दै आएकी थिइन्। शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ। घटनाको कारण अहिलेसम्म स्पष्ट नभए पनि आत्महत्या वा अन्य कारणको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

स्थानीयहरू भने घटनाबारे गम्भीर आशंका व्यक्त गर्दै सत्यतथ्य छानबिनको माग गरिरहेका छन्।


सम्बन्धित समाचार