Logo

७ चैत,वीरगञ्ज । वीरगञ्ज नर्सिङ क्याम्पसमा नेविसङ्घले गरेको तालाबन्दी खोल्न माग गर्दै विद्यार्थीले प्रदर्शन गरेका छन् । तालाबन्दीका कारण पठनपाठन र आउँदै गरेको परिक्षा संचालनमा असर हुने बताउँदै विद्यार्थीले क्याम्पस प्रशासनको मूल ढोका अगाडि धर्ना दिएर तालाबन्दी खोल्न माग गरेका हुन् ।

गत आइतबार सम्पन्न स्ववियू निर्वाचनमा एकजना सदस्य बाहेक अन्य सम्पूर्ण पदाधिकारी र सदस्यमा अनेरास्ववियूका उम्मेदवारले जित निकालेपछि निर्वाचनमा धाँधली भएको भन्दै हिजो दिउँसो नेविसङ्घले क्याम्पसको प्रशासन शाखा र प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको थियो ।

स्ववियू निर्वाचनको बहानामा तालावन्दी गर्न नपाईने र शैक्षिक गतिविधि निर्वाध ढंगले पुनः सूचारु हुनुपर्ने धर्नामा बसेका विद्यार्थीको माग छ । क्याम्पसमा रातारात गरिएको तालाबन्दीका कारण आफूहरु आश्चर्यचकित भएको बताउँदै अधिकांस विद्यार्थीले तालाबन्दी खोली निसर्त रुपमा पठनपाठन पुनः सूचारु गर्नुपर्ने मागसहित त्रिभुवन विश्वविद्यालयका डीनलाई पत्र समेत लेखेका छन् ।

प्राविधिक शिक्षा जस्तो क्षेत्रमा राजनीतिक स्वार्थका निमित्त विद्यार्थीको भविष्यसँग खेलवाड गर्ने अधिकार कसैलाई नभएको उनीहरुको भनाई छ । उनीहरुले आफ्नो माग सम्बोधन नभए कडा कदम चाल्न आफूहरु बाध्य हुने चेतावनी समेत दिएका छन् । यता, स्ववियू निर्वाचनमा जितेको अनेरास्ववियूले पनि एउटा प्रेस विज्ञप्ति जारी गर्दै लोकतान्त्रिक पद्धति अनुसार सम्पन्न निर्वाचनको नतिजालाई स्वीकार गर्नुपर्ने ठाउँमा नेविसङ्घले पठनपाठनको वातावरणलाई प्रभावित गर्न खोजेको आरोप लगाएको छ ।

 


सम्बन्धित समाचार