१३ चैत,वीरगञ्ज । वीरगन्जस्थित एकीकृत सुरक्षा जाँचचौकी (आईसीपी) मा कार्यरत नेपाल इन्टरमोडल यातायात विकास समितिका करारका कर्मचारी तथा सुरक्षागार्डले आइतबारदेखि हडताल थालेका छन । रोजगारीको सुनिश्चितता तथा सेवासुविधाको माग गर्दै उनीहरूले काम ठप्प पारेका हुन्। ।
समितिले चैत १८ देखि आईसीपी सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी कैलाश टर्मिनल्सलाई दिन लागेको छ । त्यसअघि नै आफ्नो रोजगारीको सुनिश्चितता हुनुपर्ने कर्मचारीले माग गरेका हुन् । समितिअन्तर्गत करारमा ३४ जना कर्मचारी तथा गोर्खाली योद्धा सेक्युरिटी कम्पनीमार्फत ४० सुरक्षागार्ड कार्यरत छन् ।
कर्मचारीले हडताल थालेपछि भन्सार नाका बन्द भएको छ । भारतबाट भित्रिने मालवाहक सवारीसाधन तथा भारततर्फ जाने नेपाली मालवाहक सवारीसाधन तथा खाली भारतीय मालवाहक सवारीसाधन ठूलो संख्यामा रोकिएका छन् । वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत रामचन्द्र ढकालले कर्मचारी हडतालले भन्सारको कामकाज प्रभावित भएको बताए ।
‘यसले राजस्व असुलीमा समेत असर परेको छ,’ उनले भने । कर्मचारीले ३ सूत्रीय माग राखेका हुन् । पाँच वर्षदेखि कार्यरत कर्मचारीले प्रत्येक वर्षको १ महिनाको दरले ५ महिनाको प्रोत्साहन भत्ता पाउनुपर्ने, करारका कर्मचारीलाई अब एक वर्ष करार सम्झौता गरेर मात्र निजी कम्पनीलाई आईसीपी हस्तान्तरण गर्नुपर्ने र सरकारबाट लागू भई खाईपाई आएको सेवासुविधा तलबभत्ता कायम नै रहनुपर्ने उनीहरूको माग छ ।
इन्टरमोडल यातायात विकास समिति कार्यालयका प्रमुख कमल ज्ञवालीले आफूले समितिको केन्द्रीय कार्यालयमा कर्मचारीको मागबारे जानकारी गराइसकेको र वार्ताको चरणमा रहेको बताए ।
कैलाश टर्मिनल्स जेभीका अध्यक्ष माधवप्रसाद बरालले कम्पनीले कर्मचारी तथा सुरक्षागार्डलाई हटाउनेबारे केही पनि नबोलेकोमा उनीहरूले अनावश्यक रूपमा काम ठप्प पारेको बताए ।
‘हामीले कर्मचारी हटाउने वा नयाँ राख्ने विषयमा केही बोलेकै छैनौं,’ उनले भने, ‘हामी आफैंलाई अनुभवी, मिहिनेती र इमानदार कर्मचारीको आवश्यकता छ, हालकै कर्मचारीलाई निरन्तरता दिने मनस्थितिमा छौं ।’ कैलाशले ५ वर्षका लागि १ अर्ब ८० करोड ९० लाख रुपैयाँमा आईसीपी सञ्चालनको ठेक्का पाएको हो ।साभार—कान्तिपुर