११ माघ, वीरगञ्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पर्सा निर्वाचन क्षेत्र नम्बर ३ यतिबेला राजनीतिक चर्चा र बहसको केन्द्रबिन्दु बनेको छ। जिल्लाका चारवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी ९६ हजार ५ सय ४२ मतदाता रहेको यस क्षेत्रमा पुराना अनुभवी नेता र नयाँ उम्मेदवारहरूबीचको प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ।
विशेषगरी थारु समुदायको सघन उपस्थिति रहेको र नेपाली कांग्रेसको ऐतिहासिक पकेट क्षेत्र मानिने यस भूभागमा यसपटक त्रिकोणात्मक भिडन्तको सङ्केत देखिएको छ। निर्वाचन आयोगले यस क्षेत्रका लागि ४७ मतदान स्थल र १ सय १४ मतदान केन्द्र तोकेर चुनावी तयारीलाई अन्तिम चरणमा पुर्याएसँगै उम्मेदवारहरू पनि मतदाता रिझाउन घरदैलो र चुनावी सभाहरूमा व्यस्त हुन थालेका छन्।
यस निर्वाचन क्षेत्रको इतिहास र वर्तमानलाई नियाल्दा नेपाली कांग्रेसका उम्मेदवार एवं पूर्वमन्त्री सुरेन्द्र प्रसाद चौधरी सबैभन्दा चर्चामा रहेका पात्र हुन्। वि.सं. २०४८ सालदेखि नै यस क्षेत्रको प्रतिनिधित्व गर्दै आएका चौधरी एक पुराना र माहिर राजनीतिक खेलाडी हुन्। यद्यपि, वि.सं. २०७९ को आम निर्वाचनमा उनी नेकपा एमालेका उम्मेदवार राजकुमार गुप्तासँग मात्र १६५ मतको निकै झिनो अन्तरले पराजित भएका थिए। तत्कालीन समयमा गुप्ताले २४ हजार ३ सय १९ मत ल्याउँदा चौधरीले २४ हजार १ सय ५२ मत प्राप्त गरेका थिए।
यसपटक चौधरी आफ्नो सोही गुमेको विरासत फर्काउने दाउमा छन्। थारु बाहुल्य क्षेत्र हुनु र कांग्रेसको बलियो सङ्गठन हुनु चौधरीका लागि सबैभन्दा ठूलो शक्ति हो। तर, उनीसामु मुख्य चुनौती भनेको पार्टीभित्रको आन्तरिक एकता हो। यदि कांग्रेसभित्रका सबै गुटहरू एकढिक्का भएर लागेमा चौधरीको जित सहज देखिन्छ, अन्यथा पार्टीभित्रैबाट हुन सक्ने अन्तर्घातको जोखिमले उनलाई विगतमा जस्तै अप्ठ्यारोमा पार्न सक्ने स्थानीय विश्लेषकहरूको ठम्याइ छ।
चौधरीको मुख्य प्रतिद्वन्द्वीका रूपमा नेकपा एमालेका रुपेश पाण्डे चुनावी मैदानमा छन्। एमालेले यसपटक आफ्ना पुराना नेता राजकुमार गुप्ता भ्रष्टाचार मुद्दामा मुछिएर पुर्पक्षका लागि जेल परेपछि युवा व्यवसायी पाण्डेलाई नयाँ अनुहारका रूपमा अघि सारेको हो। पाण्डे मुख्यतया काठमाडौँमा बसेर व्यापार व्यवसाय गर्दै आएका व्यक्ति हुन् र उनी उम्मेदवारी दर्ताको केही समयअघि मात्र एमालेमा सक्रिय देखिएका हुन्।
उम्मेदवार बन्नु केही दिनअघि मात्र पार्टीबाट टिकट सुनिश्चित गरेका पाण्डेको विगतको पृष्ठभूमि त्यति राम्रो नरहेको र उनलाई अवसरको खोजीमा आएको उम्मेदवारु को आरोपसमेत लाग्ने गरेको छ। अघिल्लो निर्वाचनमा एमालेका गुप्ताले ल्याएको करिब २४ हजार मतलाई पाण्डेले कति जोगाउन सक्छन् भन्ने कुरा नै उनको जितको मुख्य आधार बन्नेछ। यद्यपि, गुप्ताका कट्टर समर्थकहरू र एमालेको कोर भोट पाण्डेमा पूर्ण रूपमा स्थानान्तरण नहुने आशङ्काका कारण एमालेका लागि यो पटक आफ्नो साख जोगाउनु निकै चुनौतीपूर्ण देखिएको छ।
यसैगरी, यसपटकको निर्वाचनमा सशक्त तेस्रो शक्तिको रूपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का छोटेलाल यादव उदाएका छन्। तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादी पृष्ठभूमिका नेताहरूको बलियो समर्थनमा उनले यस क्षेत्रमा प्रभावकारी उम्मेदवारी दिएका हुन्। स्थानीय स्तरमा निकै भिजेका र लोकप्रिय नेता मानिने यादव लामो समयदेखि यस क्षेत्रका जनताको समस्यालाई राज्यका निकायसम्म पुर्याउन आवाज उठाउँदै आएका छन्।
यस क्षेत्रमा यादव समुदायको उपस्थिति समेत बलियो रहेकाले उनले जातीय र वैचारिक दुवै मत तान्न सक्ने सामर्थ्य राख्दछन्। युवाहरूको विश्वास जित्न सफल भएकाले उनले नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र प्रसाद चौधरीसँग सिधै प्रतिस्पर्धा गर्ने देखिन्छ। वर्षौँदेखि चुनाव लड्दै आएका चौधरीको विकल्प खोजिरहेका मतदाताहरूका लागि छोटेलाल यादव एक भरोसायोग्य पात्रका रूपमा देखिएका छन्। यदि मतदाताले नयाँ विकल्प रोज्ने निर्णय गरेमा यादवले चौधरीलाई कडा टक्कर दिने मात्र होइन, नतिजा नै आफ्नो पक्षमा पार्न सक्ने अवस्थालाई नकार्न सकिँदैन।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट रामाकान्त चौरसिया पनि चुनावी मैदानमा छन्। देशव्यापी रूपमा घण्टी को लहरले केही प्रभाव पारे पनि पर्सा–३ मा भने चौरसियाको अवस्था केही फरक छ। ठेकेदार पृष्ठभूमिका चौरसियालाई स्थानीयले सहजै स्वीकार गर्न सकेको देखिँदैन। यसअघि यस क्षेत्रबाट निर्वाचित भएका ठेकेदार र व्यापारी पृष्ठभूमिका नेताहरू राजकुमार गुप्ता र हरिनारायण रौनियार भ्रष्टाचार मुद्दामा मुछिएका कारण मतदाताहरू व्यापारी राजनीतिज्ञ प्रति निकै सशंकित देखिएका छन्।
हरिनारायण रौनियारमाथिको मुद्दा अझै सर्वोच्च अदालतमा विचाराधीन छ। यस्तो पृष्ठभूमिमा रामाकान्त चौरसियाले रास्वपाको ब्राण्ड प्रयोग गरेर कति मत तान्न सक्छन् भन्ने कुरा चासोको विषय बनेको छ, तर उनले घण्टीको लहरबाट मात्र चुनाव जित्न सक्ने सम्भावना न्यून रहेको विश्लेषण गरिन्छ।
मधेश केन्द्रित अन्य दलहरूमा जनमत पार्टीकी माल्ती कुशवाहा र जनता समाजवादी पार्टी (जसपा) नेपालका शत्रुघ्न यादव पनि प्रतिस्पर्धामा छन्। डा. सीके राउत नेतृत्वको जनमत पार्टीले मधेशी समुदायका मुद्दा र किसानका समस्यालाई मुख्य एजेन्डा बनाएर कुशवाहालाई अघि सारेको छ।
किसान बाहुल्य रहेको यस क्षेत्रमा जनमतको मतले ठूला दलहरूको हारजितमा प्रभाव पार्न सक्छ। त्यस्तै, जसपाका शत्रुघ्न यादव पनि आफ्नो पार्टीको पुरानो साख जोगाउन र सङ्गठित मत जोगाउन सक्रिय देखिन्छन्। यद्यपि, यी दलहरूको मुख्य प्रतिस्पर्धा भने आफ्नो जनमत सुरक्षित राख्न र समानुपातिकतर्फ बढी मत बटुल्नमा केन्द्रित देखिएको छ।
समग्रमा भन्नुपर्दा, पर्सा–३ को चुनावी भिडन्त यसपटक अनुभव भर्सेस परिवर्तन को लडाइँ जस्तो देखिएको छ। पोखरिया नगरपालिका र विन्दवासिनी, जगरनाथपुर तथा सखुवाप्रसौनी गाउँपालिका समेटिएको यस क्षेत्रमा जातीय समीकरण र व्यक्तिगत प्रभावले ठूलो भूमिका खेल्नेछ। यदि नेपाली कांग्रेसभित्र पूर्ण एकता कायम भएमा र सुरेन्द्र चौधरीले आफ्ना असन्तुष्ट कार्यकर्तालाई मिलाउन सकेमा उनी सबैभन्दा बलियो उम्मेदवार हुनेछन्।
तर, एमालेभित्रको आन्तरिक कलह र छोटेलाल यादवको बढ्दो लोकप्रियताले चौधरीलाई पनि ठूलो दबाबमा राखेको छ। एमालेका रुपेश पाण्डेका लागि एमालेको सङ्गठन जोगाउनु मुख्य चुनौती हुनेछ भने छोटेलाल यादवका लागि यो निर्वाचन आफ्नो राजनीतिक उचाइ प्रमाणित गर्ने र स्थापित नेतालाई टक्कर दिने सुनौलो अवसर बनेको छ। आगामी फागुन २१ गते हुने मतदानले नै यी उम्मेदवारहरूको राजनीतिक भविष्यको फैसला गर्नेछ।
















