Logo

२५ फाल्गुण, काठमाडौं । धनुषा निर्वाचन क्षेत्र नम्बर १ को विवादित चुनावी परिणाम र उम्मेदवारी खारेजीको विषय अहिले न्यायिक निरूपणको पर्खाइमा सर्वोच्च अदालत पुगेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलले आफ्नो उम्मेदवारी बदर गर्ने निर्वाचन आयोगको निर्णयलाई चुनौती दिँदै दायर गरेको रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदैछ । न्यायाधीश नृपध्वज निरौलाको इजलासमा हुने यस सुनुवाइले धनुषा–१ को रोक्का रहेको निर्वाचन परिणाम र साहको राजनीतिक भविष्यको दिशा तय गर्ने अपेक्षा गरिएको छ ।

यसअघि निर्वाचन आयोगले साहको नाम ुकालोसूचीु मा रहेको र उम्मेदवार बन्न आवश्यक कानुनी योग्यता नपुग्ने ठहर गर्दै उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो । आयोगको उक्त निर्णय लगत्तै साहले न्यायका लागि सर्वोच्चको ढोका ढकढक्याउनुभएको हो । सर्वोच्चमा मुद्दा विचाराधीन रहेकै अवस्थामा आयोगले उक्त क्षेत्रको मतगणना कार्यलाई भने निरन्तरता दिएको थियो। यद्यपि, कानुनी जटिलता आउन सक्ने भन्दै आयोगले मतगणना सम्पन्न गर्न तर आधिकारिक रूपमा अन्तिम नतिजा र विजयी उम्मेदवारको घोषणा नगर्न निर्वाचन अधिकृतको कार्यालयलाई विशेष निर्देशन दिएको थियो ।

आयोगको निर्देशन बमोजिम निर्वाचन अधिकृतको कार्यालयले मतगणनाको कार्य पुरा गरिसकेको भए तापनि सर्वोच्चको फैसला नआउन्जेलसम्मका लागि अन्तिम नतिजा सार्वजनिक गर्ने प्रक्रिया स्थगित गरिएको छ । यस क्षेत्रमा नेकपाका उम्मेदवार मातृका यादवले आफू विजयी भइसकेको दाबी गर्दै प्रमाणपत्रको माग गरिरहनुभएको छ भने रास्वपा पक्ष अदालतको फैसलाको प्रतीक्षामा रहेको छ । आज हुने प्रारम्भिक सुनुवाइले यस क्षेत्रको अन्योल चिर्न महत्वपूर्ण भूमिका खेल्ने देखिएको छ ।


सम्बन्धित समाचार