२५ फाल्गुण, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको अन्तिम चरणको कार्यतालिका सार्वजनिक गर्दै चैतको पहिलो साताभित्र समानुपातिक प्रणालीतर्फका नवनिर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गर्ने तयारी गरेको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचनसँग सम्बन्धित सम्पूर्ण प्रक्रियाहरू सोही अवधिभित्र सम्पन्न गर्ने गरी आयोगले तीव्र गतिमा काम अघि बढाएको हो । भोलि मङ्गलवारसम्म देशभरको समानुपातिकतर्फको मतगणना सकिने अनुमान गरिएको छ, जसले दलहरूले पाउने सिट सङ्ख्याको अन्तिम खाका स्पष्ट पार्नेछ ।
मतगणनाको कार्य पूर्ण रूपमा सम्पन्न भएपछि आयोगले कूल खसेको सदर मत र त्यसको प्रतिशतका आधारमा राजनीतिक दलहरूले प्राप्त गरेको सिट सङ्ख्या निर्धारण गर्नेछ । सिट सङ्ख्या बाँडफाँड भएलगत्तै आयोगले सम्बन्धित दलहरूलाई आफ्नो बन्दसूचीमा रहेका नामहरूमध्येबाट निर्वाचित हुने उम्मेदवारहरूको नामावली पठाउन औपचारिक पत्राचार गर्नेछ । यस प्रक्रियामा दलहरूले कानुनले तोकेको विभिन्न क्लस्टर मिलाएर नाम पठाउनुपर्ने संवैधानिक व्यवस्था छ ।
दलहरूबाट नामावली प्राप्त भएपछि आयोगले ती नामहरू क्लस्टरअनुसार मिले–नमिलेको सूक्ष्म रुजु गर्ने कार्य गर्नेछ । सबै कानुनी प्रक्रिया र मापदण्ड पुरा भएपछि मात्र आयोगले आधिकारिक रूपमा निर्वाचित सदस्यहरूको घोषणा गरी उनीहरूलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नेछ । यो प्रक्रिया चैतको पहिलो हप्ताभित्र टुङ्गिने भएकाले त्यसलगत्तै नयाँ संसद्को बैठक आह्वानका लागि मार्गप्रशस्त हुने देखिन्छ ।

















