Logo

२६ फागुन,वीरगञ्ज । निर्वाचन आयोगले लामो समयदेखि अन्योलमा रहेको धनुषा निर्वाचन क्षेत्र नम्बर–१ को मतपरिणाम सार्वजनिक गर्न निर्देशन दिएपछि चुनावी परिणाम घोषणा भएको छ।

आयोगको सोमबार बसेको बैठकले निर्वाचन अधिकृतको कार्यालयलाई परिणाम सार्वजनिक गर्न निर्देशन दिएसँगै नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार मातृका प्रसाद यादव विजयी घोषित हुनुभएको छ। आयोगको निर्देशन लगत्तै निर्वाचन अधिकृतको कार्यालयले यादवलाई विजयी भएको प्रमाणपत्र समेत प्रदान गरिसकेको छ।

यसअघि कालोसूचीमा परेको आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साहको उम्मेदवारी निर्वाचनको तीन दिनअघि मात्रै आयोगले खारेज गरेको थियो। उम्मेदवारी खारेज भए पनि मतदान प्रक्रिया भइसकेकाले आयोगले मतपरिणाम सार्वजनिक नगरी रोकेर राखेको थियो। निर्वाचनको नतिजा रोकेको भन्दै आयोगको चौतर्फी विरोध भएपछि र सर्वोच्च अदालतले तत्काल उम्मेदवारी खारेजीको निर्णयमा रोक लगाउन अस्वीकार गरेपछि आयोग निकास दिन बाध्य भएको हो।

आफ्नो उम्मेदवारी खारेजी विरुद्ध साहले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उक्त रिटमाथि सोमबार न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासमा बहस भएको थियो। बहसपछि अदालतले आगामी शुक्रबार (फागुन २९ गते) का लागि दुवै पक्षलाई अन्तरिम आदेशबारे छलफल गर्न बोलाएको छ। अदालतले तत्काल साहको पक्षमा अन्तरिम आदेश नदिएपछि आयोगले अदालतबाट अन्यथा आदेश भएमा सोही बमोजिम हुने गरी हाल कायम रहेका उम्मेदवारहरूले प्राप्त गरेको मतका आधारमा परिणाम घोषणा गर्न निर्देशन दिएको हो।


सम्बन्धित समाचार