Logo

४ कार्तिक, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं निर्वाचन क्षेत्र नं ८ लाई मुलुकको साँस्कृतिक राजधानीका रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका छन । प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका मन्त्री श्रेष्ठले विश्वसम्पदा सूचीमा सूचीकृत दुई सम्पदा बसन्तपुर दरबार स्क्वायर र स्वयम्भु जोड्ने सम्पदा मार्ग निर्माण, मुलुककै प्राचीन स्थानीय सम्पदाहरुको संरक्षण र पर्यटकीय स्थल ह्वाईट गुम्बा वरपर पुर्वाधार विकास गरी काठमाडौं निर्वाचन क्षेत्र नं ८ लाई नेपालको सांस्कृतिक केन्द्रका रुपमा विकास गर्ने बताए ।

निर्वाचन परिचालन समितिले काठमाडौंको डल्लुमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले विश्वसम्पदा सूचीमा सूचीकृत बसन्तपुर दरबार स्क्वायर र स्वयम्भुलाई जोड्ने सम्पदा मार्ग निर्माण कार्य सुरु भइसकेको बताए । स्वयम्भूदेखि हनुमानढोकासम्मका सम्पदाहरुलाई विश्व सामू चिनाउने र पर्यटन क्षेत्रको विकास गर्ने उनको भनाइ छ ।

दुवै विश्व सम्पदाको बीचमा रहेका कयौं स्थानीय सम्पदाहरुको पहिचान र संरक्षणबाट उक्त क्षेत्र साँस्कृतिक राजधानीका रुपमा विकास हुने मन्त्री श्रेष्ठले बताए । सम्पदाको संरक्षण, पर्यटकीय क्षेत्रको विकास तथा त्यसमार्फत् आर्यआर्जन गरी स्थानीय जनताको जीवनस्तरमा सुधार ल्याउने आफ्नो योजना रहेको उनको भनाई थियो ।


सम्बन्धित समाचार