Logo

७ वैशाख, वीरगञ्ज । वीरगञ्जको मेनरोड अहिले केवल भग्नावशेषको चाङ मात्र होइन, यो हजारौँ सपना र दशकौँ पुरानो विरासत ढलेको एउटा कुरुप तस्वीर बनेको छ। ९० वर्ष पुग्न लागेका वीरगञ्जका वरिष्ठ उद्योगपति बाबुलाल चाचान जब आफ्नै आँखा अगाडि ठडिएका संरचनाहरू डोजरले धुलोमा मिलाएको हेर्न विवश भए, तब उनको अनुहारमा उमेरले ल्याएको चाउरीभन्दा बढी राज्यको निर्ममताले दिएको पीडा प्रष्ट देखिन्थ्यो।

भग्नावशेषको बीचमा उभिएर चाचानले रोष प्रकट गर्दै भन्नुभयो, “म यहीँ हुर्किएँ, ८३ वर्षदेखि यहीँ बसिरहेको छु। हामीलाई अतिक्रमणकारी भनेर जुन कुप्रचार गरियो, त्यो भन्दा ठूलो अन्याय अर्को केही हुन सक्दैन। हामीसँग लालपुर्जा छ, नगरपालिकाबाट नक्सा पास छ, दशकौँदेखि कर तिरेको रसिद छ। एक व्यक्तिबाट अर्कोमा खरिद-बिक्री भएको यो जग्गा कसरी सरकारी भयो ?

चाचानले मुआब्जाको विषयमा फैलाइएको भ्रमप्रति तीव्र आक्रोश व्यक्त गर्दै चुनौती दिनुभयो, “२०२१ सालमा राजपत्रमा सूचना जारी गरिए पनि वीरगञ्जका कुनै पनि जग्गाधनीले एक पैसा मुआब्जा पाएका छैनन्। यदि कसैले मुआब्जा दिएको प्रमाणित गर्छ भने म त्यसलाई चुनौती दिन तयार छु।”

इतिहास पल्टाउँदै चाचानले स्मरण गर्नुभयो कि मेनरोडमा पहिला रेल चल्ने गर्थ्यो। १९९० सालको महाभूकम्पपछि रेल चल्ने बाटोमा ठूलो खाडल भयो । त्यसपछि रेल्वे लाइनलाई पूर्वतर्फ (हालको रेल्वे रोड) सारिएको थियो। त्यसपछि मात्र यहाँ सडक बनेको हो। “यहाँ कसैले सडक मिचेको छैन, यो त सरकारले जवर्जस्ती जनताको निजी सम्पत्ति हडप्न खोजेको हो,” उहाँले भन्नुभयो।

लोकतन्त्रमा कानूनी राज खोइ ?

सर्वोच्च अदालतमा परेको रिट खारेज भए पनि पुनरावेदनका लागि पुनः रिट दर्ता भइसकेको अवस्थामा डोजर चलाउनुलाई उहाँले राज्य आतंकको संज्ञा दिनुभयो। “अदालतमा मुद्दा विचाराधीन छ, यस्तो बेला डोजर चलाउनु लोकतन्त्र र संविधानले दिएको नागरिकको मौलिक हकमाथिको ठाडो प्रहार हो,” चाचानले भन्नुभयो, “मुलुकमा कानूनी राज छ कि छैन भन्ने प्रश्न उठेको छ।”

प्रशासनले बिना पूर्वतयारी बिजुली र पानीका पाइप काटिदिँदा वैशाखको प्रचण्ड गर्मीमा वीरगञ्जबासी छटपटिएका छन्। शनिबार राति सूचना दिएर आइतबार बिहानै डोजर चलाइँदा करोडौँको सामान जोगाउन समेत नपाएको व्यापारीहरूको चित्कारले मेनरोड गुञ्जिरहेको छ।

बाबुलाल चाचानजस्ता ज्येष्ठ नागरिकको अनुभव र आक्रोशले वीरगञ्जमा भइरहेको यो विस्तारलाई केवल भौतिक विकासको रूपमा मात्र हेर्न दिँदैन। यो त एउटा शहरको इतिहास, नागरिकको सम्पत्ति र राज्यको दायित्वबीचको गम्भीर द्वन्द्व बनेको छ। हामी पीडित छौँ र यसको कानूनी उपचारका लागि फेरि अदालत जानेछौँ, चाचानले आफ्नो संकल्प दोहोर्‍याउनुभयो। वीरगञ्जको सडक फराकिलो त होला, तर यहाँका नागरिकको मनमा लागेको यो राज्य आतंक को घाउ भने कहिल्यै निको नहुने गरी कोरिएको छ।

वीरगञ्जमा डोजर चलाएपछि बाबुलाल चाचानको भनाइ यस्तो छ


सम्बन्धित समाचार