Logo

हरेक वर्ष ३ जेठ आउँछ, स्वर मिलाई मिलाई ठुला ठुला भाषण गरिन्छ र परम्परागत शैलीमा श्रद्धाञ्जली अर्पण गरिन्छ। “जनताको बहुदलीय जनवाद” को रटान दोहोरिन्छ, मञ्चमा उभिएका नेताहरू भावुक बन्छन् र सामाजिक सञ्जालहरू मदन भण्डारीका पुराना तस्बिर एवं लामा उद्धरणहरूले भरिन्छन्। तर, यो औपचारिक माहोलका बीच एउटा गम्भीर र यक्ष प्रश्न सधैँ अनुत्तरित बनेर उठिरहन्छ। यदि मदन भण्डारीको विचार यति महान् र नेपाली माटो अनुकूल थियो, र वहाँका उत्तराधिकारीहरूले श्रद्धाञ्जली सभाका भाषणहरूमा दाबी गरे जस्तै वहाँकै विचारप्रति पूर्ण प्रतिवद्ध थिए भने, वहाँपछिका तीन दशकमा त्यो विचार व्यवहारमा किन कहिल्यै लागू गरिएन ? यो प्रश्न केवल एक सामान्य राजनीतिक प्रश्न मात्र होइनस यो वास्तवमा नेपालको कम्युनिष्ट आन्दोलनको गम्भीर नैतिक सङ्कटको प्रश्न हो।

विगतलाई फर्केर हेर्दा २ जेठ २०५० को त्यो रात कहिल्यै बिर्सन सकिँदैन, जब एउटा जुझारु युगको अप्रत्याशित अन्त्य भएको थियो। हेटौँडामा रातभर झरी परिरहेको थियो र भोलिपल्ट नेपाल परिचयको परीक्षा भएकाले हामी होस्टलमा पढाइमा व्यस्त थियौँ। त्यही रात अचानक एउटा कहालीलाग्दो खबर आयो— मदन भण्डारी र जीवराज आश्रित चढेको गाडी दासढुङ्गामा दुर्घटनाग्रस्त भयो, ड्राइभर बाँचे तर नेताहरू बेपत्ता भए। त्यो समय न आजको जस्तो हातहातमा मोबाइल थियो, न त इन्टरनेट नै। एउटा सानो वाकम्यानको रेडियो वरिपरि हामी सबै साथीहरू झुम्मियौँ र रेडियो नेपालको राति ११ बजेको समाचार सुन्नुभन्दा अघि सबैले एउटै कामना गर्‍यौँ, “हे भगवान्, नराम्रो समाचार सुन्नु नपरोस्।” तर नियतिले हाम्रो त्यो सामूहिक प्रार्थना स्वीकार गरेन। भोलिपल्ट सिंगो देश शोकको गहिरो सागरमा डुब्यो। समयको अन्तरालमा बुझ्दै जाँदा, हामीले त्यो रात केवल दुई जना नेता मात्र गुमाएका रहेनछौँ, बरु एउटा देशको सुन्दर सम्भावना, एउटा विशिष्ट वैचारिक उचाइ र नैतिक राजनीतिका अन्तिम खम्बा गुमाएका रहेछौँ।

मदन भण्डारी केवल एउटा राजनीतिक दलका नेता मात्र हुनुहुन्नथ्यो, वहाँ वैचारिक साहसको अर्को नाम हुनुहुन्थ्यो। वहाँको सबैभन्दा ठूलो विशेषता नै के थियो भने वहाँले कहिल्यै पनि नाजायज वा अपारदर्शी तरिकाले सत्ताको सौदाबाजी गर्नुभएन। वहाँले विचारको जग निर्माण गर्नुभयो। सोभियत संघको अप्रत्याशित पतनपछि विश्वभरकै कम्युनिष्ट आन्दोलन रक्षात्मक र शिथिल अवस्थामा पुगेका बेला वहाँले “जनताको बहुदलीय जनवाद” (जबज) मार्फत अन्तर्राष्ट्रिय स्तरमै एक नयाँ र तरंगित बहसको सुरुवात गर्नुभएको थियो। वहाँले लोकतन्त्रलाई कम्युनिष्टहरूको शत्रुको रूपमा होइन, बल्कि समाजवादतर्फ अघि बढ्ने एउटा भरपर्दो मार्गका रूपमा व्याख्या गर्नुभयो। बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, मानव अधिकारको ग्यारेन्टी, शक्ति पृथकीकरण र जनताको सर्वोच्चतालाई आत्मसात् गर्दै समाजवादी रूपान्तरणको मौलिक नेपाली बाटो खोज्नु त्यो समयका लागि एउटा अत्यन्तै साहसी वैचारिक हस्तक्षेप थियो। तर, आज तीन दशकपछि सोध्नै पर्ने हुन्छ— त्यो मौलिक विचार आज कुन अवस्थामा छ र कहाँ हरायो ?

वास्तविकता के हो भने मदन भण्डारीको मृत्युपछि आफूलाई वहाँका अनन्य उत्तराधिकारी दाबी गर्ने कम्युनिष्टहरू पटक–पटक सत्ताको शीर्ष स्थानमा पुगे। उनीहरू एकपटक होइन, अनेकौँ पटक सिंहदरबारको बागडोर सम्हाल्न पुगे। केन्द्र सरकार, प्रदेश सरकार र देशका ३५० भन्दा बढी स्थानीय तहहरूमा कम्युनिष्टहरूको बलियो नेतृत्व स्थापित भयो। तर के कुनै एउटा सरकार वा नेतृत्वले पनि “जनताको बहुदलीय जनवाद” लाई देशको वास्तविक विकासको मोडल बनाउन सक्यो ? के कुनै पनि पालिकाले सहकारीमा आधारित आत्मनिर्भर स्थानीय अर्थतन्त्र निर्माणको इमानदार प्रयास गर्‍यो ? के शिक्षा र स्वास्थ्य जस्ता आधारभूत आवश्यकतालाई समाजवादी अधिकारका रूपमा जनताको पहुँचमा पुर्‍याइयोरु के देशमा कुनै उत्पादनमुखी र आत्मनिर्भर अर्थतन्त्रको जग बसालियो वा स्थानीय तहमा जनसहभागितामूलक समाजवादको अभ्यास गरियोरु यी सबै प्रश्नको उत्तर अत्यन्तै स्पष्ट र निराशाजनक छ— गरिएन। जबज व्यवहारमा कहिल्यै पनि लागू गरिएन, यो केवल भाषणका मञ्चहरू, चुनावी पोस्टरहरू, पार्टीका बन्द प्रशिक्षण कोठाहरू र चुनाव जित्ने एउटा सस्तो नारामा मात्र सीमित रह्यो। यो त केवल नेताहरूको राजनीतिक स्वार्थ रक्षा गर्ने एउटा सुरक्षा कवच जस्तो मात्र बन्न पुग्यो।

यसको सबैभन्दा ठूलो विडम्बना के छ भने, आफूलाई मदन भण्डारीको सच्चा अनुयायी भन्न रुचाउनेहरू नै समयक्रममा नवउदारवादी अर्थतन्त्रका प्रमुख मतियार र व्यवस्थापक बन्न पुगे। सार्वजनिक सम्पत्तिको अन्धाधुन्ध निजीकरण गर्न उनीहरू नै सबैभन्दा बढी उद्यत रहे। फलतः कम्युनिष्टहरुकै शासनकाल र नेतृत्वमा नेपालमा दलाल पुँजीवादले संस्थागत रूपमा जरो गाड्ने अवसर पायो। ठूला व्यापारी, बिचौलिया र भ्रष्ट तत्वहरूसँग सत्ता गठबन्धनको निकटता दिनानुदिन बढ्दै गयो। जनताको बहुदलीय जनवादको नाममा आम सर्वसाधारणलाई भावनात्मक रूपमा बाँधेर भोट त लिइयो, तर व्यवहारमा राज्यसत्तालाई सीमित सम्भ्रान्त समूहको आर्थिक स्वार्थ पूरा गर्ने साधन मात्र बनाइयो। मदन भण्डारीले आफ्नो छोटो राजनीतिक जीवनमा पार्टीभित्रको गुटवाद, व्यक्तिवाद, भ्रष्टाचार र सत्ता–लोभको कडा विरोध गर्नुभएको थियो। तर आज वहाँकै नामको ब्याज खाएर राजनीति गर्ने पार्टीहरू गुटबन्दी, चरम अवसरवाद र सत्ताकेन्द्रित विकृत संस्कृतिको सबैभन्दा ठूलो र नग्न उदाहरण बनेका छन्।

आज केपी शर्मा ओली, माधव कुमार नेपालदेखि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसम्मका नेताहरूले हरेक वर्ष मदन भण्डारीको सपना अझै अधुरो रहेको कुरा दोहोर्‍याइरहेका हुन्छन्। तर यहाँ एउटा यक्ष प्रश्न उठ्छ— पटक–पटक मुलुकको सत्ता र शक्तिको नेतृत्व गर्ने पूर्ण अवसर पाउँदा र देशैभरि संगठनको यति शक्तिशाली सञ्जाल हुँदाहुँदै पनि त्यो सपनालाई आखिर अधुरो कसले राख्यो त ? विगत तीन दशकसम्म यो देशको सत्ता चलाउने र नीति निर्माणको तहमा बस्नेहरू को थिए ? स्थानीय सरकारहरूमा अत्यधिक बहुमत कसको थियोरु यदि वास्तवमै नेतृत्वमा मदन भण्डारी र वहाँको विचारप्रति अलिकति मात्रै पनि सम्मान हुन्थ्यो भने, त्यसलाई व्यवहारमा उतार्न कसले रोकेको थियो ? के मदन भण्डारीको विचार र आदर्श अनुसार सत्ता र पार्टी सञ्चालन गरिएको भए आज नेपालका कम्युनिष्ट पार्टीहरूको हालत यति विघ्न बदनाम र कमजोर हुन्थ्यो ? पक्कै हुन्थेन। श्रद्धाञ्जली भाषणका शब्दहरूले होइन, बरु व्यवहार र कार्यशैलीले प्रमाणित हुन्छ। अन्यथा, यी वर्षभरी गरिने औपचारिक श्रद्धाञ्जलीहरू मगरमच्छका आँसु जस्ता मात्र देखिन्छन्।

मेरो आफ्नो व्यक्तिगत जीवनमा मदन भण्डारीलाई प्रत्यक्ष भेट्ने र वहाँका विचारहरू सुन्ने अवसर पाउनु एउटा अविस्मरणीय र गौरवपूर्ण क्षण थियो। वहाँको सादगीपन, अध्ययनशीलता र सरल व्यवहारले हामीजस्ता तत्कालीन विद्यार्थीहरूलाई गहिरो प्रभाव पारेको थियो। वहाँले हामीलाई सधैँ राम्रोसँग पढ्न र देशको सेवामा समर्पित हुन प्रेरित गर्नुहुन्थ्यो। त्यो समय हामीलाई के दृढ विश्वास थियो भने राजनीति भनेको समाज र व्यवस्था परिवर्तनको एउटा पवित्र माध्यम हो र कम्युनिष्ट आन्दोलनले नै यो देशका सर्वहारा एवं उत्पीडित वर्गको जीवन सधैँका लागि बदल्नेछ। तर आज समयको यो मोडमा उभिएर फर्केर हेर्दा मन भारी भएर आउँछ। मदन भण्डारीको नाम बेचेर राजनीति चम्काउनेहरूले वहाँको विचारलाई कहिल्यै संस्थागत गर्नै चाहेनन्। बरु, वहाँको विचार र लोकप्रियतालाई हतियार बनाएर आफ्नो सत्ता र कुर्सी मात्रै सुरक्षित गर्ने दुष्प्रयास गरिरहे। जबजलाई व्यवहारमा उतार्नुको सट्टा त्यसलाई केवल एउटा वैचारिक आभूषण बनाएर दलाल, बिचौलिया र भ्रष्टाचारीहरूको सेवामा आफूलाई समर्पित गरिरहे।

आजको सबैभन्दा पीडादायी र निर्दयी सत्य के हो भने, जननेता मदन भण्डारीको भौतिक मृत्यु त वि.सं. २०५० मै दासढुङ्गामा भएको थियो, तर वहाँको महान् विचारको वास्तविक राजनीतिक हत्या भने त्यसपछि उहाँकै उत्तराधिकारीहरूबाट क्रमशः हुँदै गयो। जब कुनै पनि पार्टी आफ्नो मूल विचार, सिद्धान्त र आदर्शबाट पूर्ण रूपमा विचलित हुन्छ, जब क्रान्तिकारी आदर्शहरू केवल भाषणका पानाहरूमा मात्र सीमित हुन्छन्, र जब जसरी पनि सत्तामा पुग्नु र टिकिरहनु नै पार्टीको अन्तिम लक्ष्य बन्न पुग्छ, तब त्यो पार्टी वैचारिक रूपमा कहिल्यै जीवित रहन सक्दैन। आज एमालेसहित नेपालका मुख्य कम्युनिष्ट शक्तिहरू ठ्याक्कै त्यही वैचारिक सङ्कट र पहिचानको गम्भीर मोडमा उभिएका छन्। उनीहरू प्राविधिक वा संगठनात्मक रूपमा बाहिरबाट शक्तिशाली र विशाल देखिन सक्छन्, तर वैचारिक रूपमा उनीहरू भित्रभित्रै दिशाहीन र खोक्रो बन्दै गएका छन्। त्यसैले, अब यस आन्दोलनको गम्भीर पुनर्गठन र समीक्षाको विकल्प कतै देखिँदैन।

अन्त्यमा एउटा गम्भीर प्रश्न मनमा खेल्छ, यदि कमरेड मदन भण्डारी आजकै दिनमा जीवितै हुनुभएको भए के वहाँ आफ्ना पुराना सहयोद्धा र कम्युनिष्टहरूको यो विकृत राजनीति देखेर गौरव गर्नुहुन्थ्यो होला कि निराश हुनुहुन्थ्यो ? सायद उहाँले आफ्नो त्यही चर्चित भनाइ फेरि दृढताका साथ दोहोर्‍याउनुहुन्थ्यो होला, “सिद्धान्त जीवन बदल्नका लागि हो, सत्ता जोगाउनका लागि होइन।” कमरेड मदन भण्डारी र जीवराज आश्रितप्रति सच्चा श्रद्धाञ्जली अर्पण गर्नु भनेको उनीहरूको तस्बिरमा महँगा फूलका माला चढाउनु वा मञ्चमा रोए जस्तो गर्नु कदै होइन, बरु वहाँहरूले देखाएको त्यागको बाटो हिँड्नु र विचारलाई जनताको जीवनसँग जोड्नु हो। अन्यथा, इतिहासले कडा शब्दमा यो निष्कर्ष लेख्नेछ कि मदन भण्डारीको अवसान केवल एक नेताको भौतिक निधन मात्र थिएन, त्यो त नेपालका कम्युनिष्टहरूको वैचारिक र नैतिक पतनको सुरुवात पनि थियो। तर इतिहासले त्यस्तो कठोर निष्कर्ष लेख्न नपरोस् र कम्युनिष्ट नेतृत्वलाई बेलैमा सदबुद्धि आओस् भन्ने कामनासहित कमरेड मदन र जीवराज प्रति भावपूर्ण श्रद्धासुमन।


सम्बन्धित समाचार