Logo

१५ जेठ, वीरगञ्ज । युवा पुस्ताको नेतृत्व र सामाजिक रूपान्तरणको एजेन्डासहित वीरगञ्ज-२७ मा  ‘जेनजी पर्सा’ युवा सङ्गठन गठन भएको छ । सङ्गठनले वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ मा एक विशेष भेला तथा कार्यक्रमको आयोजना गरी ४० सदस्यीय नयाँ वडा कमिटी गठन गरेको हो ।

युवा सरोकार, सुशासन र सामाजिक न्यायका मुद्दालाई गाउँ–गाउँसम्म पुर्‍याउने रणनीति अन्तर्गत महानगरको यस वडामा नयाँ कार्यसमिति चयन गरिएको सङ्गठनले जनाएको छ ।

आयोजित भेलाले विशाल कुमार पटेललाई वडा इन्चार्जको जिम्मेवारी तोकेको छ भने विकास प्रसाद यादवको अध्यक्षतामा वडा कमिटी चयन गरेको छ । नवगठित कमिटीको उपाध्यक्षमा रुपेश प्रसाद यादव, सचिवमा राहुल पटेल, सह–सचिवमा अर्जुन प्रसाद यादव र कोषाध्यक्षमा सन्दिप पासवान सर्वसम्मत चयन भएका छन् । यसैगरी कमिटीको सदस्यहरूमा किशन पटेल, पप्पु पटेल, रोशन पटेल, विवेक यादव, आकाश बैठा, राजन पटेल, मनीष यादव र रवि यादव लगायतका स्थानीय युवाहरू रहेका छन् ।

वडा कमिटी गठनपछि कार्यक्रमलाई सम्बोधन गर्दै नवियुक्त वडा इन्चार्ज विशाल कुमार पटेलले ‘जेनजी’ को वैचारिक सिद्धान्त र मूल उद्देश्य अनुरूप समाजमा जरा गाडेर बसेका अनेकौँ विकृति, विसङ्गति र कुप्रथाहरूविरुद्ध युवाहरूलाई एकजुट बनाइने बताए । उनले अबको पुस्ता मूकदर्शक बनेर बस्न नहुने जिकिर गर्दै युवा शक्तिलाई सामाजिक उत्तरदायित्व र सकारात्मक परिवर्तनको रचनात्मक अभियानमा सक्रियताका साथ परिचालन गर्न आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गरे ।

यस्तै, नवगठित वडा कमिटीका अध्यक्ष विकास प्रसाद यादवले स्थानीय तहमा हुने वित्तीय अनुशासनहीनता र नीतिगत भ्रष्टाचारविरुद्ध सङ्गठनले कडा रूपमा निगरानी र दबाबमूलक अभियान सञ्चालन गर्ने उद्घोष गरे । उनले आफ्नो वडा क्षेत्रभित्र विकास निर्माणका काममा सुशासन, जवाफदेहिता र पारदर्शिता कायम गराउन युवाहरूले पहरेदारको भूमिका निर्वाह गर्ने प्रतिज्ञा समेत गरे ।

उक्त सङ्गठन विस्तार कार्यक्रममा जेनजी पर्साका जिल्ला संयोजक महादेव प्रसाद कुर्मी, मुख्य सल्लाहकार वीरेन्द्र कण्ठ लगायत जिल्ला तहका नेताहरू र स्थानीय युवाहरूको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार
भर्खरै