Logo

८ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूका स्वकीय सचिव ९पीए० नियुक्ति प्रक्रियालाई पारदर्शी, अनुशासित र मर्यादित बनाउन ७ बुँदे कडा निर्देशिका जारी गरेको छ ।

पार्टीका महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी यो निर्देशिका अनुसार अब सांसदहरूले आफ्ना नातागोता वा परिवारका सदस्यलाई स्वकीय सचिव नियुक्त गर्न पाउने छैनन् ।

संघीय संसद्का सदस्यहरूलाई राज्यबाट उपलब्ध गराइने सुविधाको जनउत्तरदायी, मितव्ययी र प्रभावकारी प्रयोग सुनिश्चित गर्ने उद्देश्यले रास्वपाले स्वकीय सचिवको नियुक्ति खुला प्रतिस्पर्धा र योग्यताका आधारमा मात्रै गर्ने व्यवस्था लागू गरेको हो ।

योग्यता र प्रतिस्पर्धालाई प्राथमिकता

निर्देशिका अनुसार स्वकीय सचिव बन्न चाहने उम्मेदवारले संघीय संसद् सचिवालयले तोकेबमोजिम कम्तीमा स्नातक ९द्यबअजभयिचुक म्भनचभभ० वा सोसरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्नेछ ।

खुला प्रतिस्पर्धा वा सार्वजनिक सूचनामार्फत छनोट गरिने यस्ता उम्मेदवारमा प्रविधिमैत्री क्षमता, अनुसन्धान सीप र पार्टीको मूल्य(मान्यताप्रतिको प्रतिबद्धतालाई मुख्य आधार बनाइनेछ । साथै, महिला तथा सीमान्तकृत र पछाडि पारिएका समुदायका योग्य व्यक्तिहरूलाई छनोटमा प्राथमिकता दिने नीति पार्टीले लिएको छ ।

दोहोरो सुविधा र स्वार्थको द्वन्द्वमा रोक

रास्वपाले स्वकीय सचिव पदमा बस्ने व्यक्तिले अन्य कुनै सरकारी वा गैरसरकारी निकायमा पूर्णकालीन काम गरी दोहोरो आर्थिक सुविधा लिन नपाउने प्रस्ट पारेको छ । सांसदको पदीय मर्यादा र कार्यसम्पादनमा कुनै पनि किसिमको ‘स्वार्थको द्वन्द्व’ नहोस् भन्ने हेतुले पूर्ण पारदर्शी व्यक्तिलाई मात्रै यस पदमा ल्याउनुपर्ने सर्त राखिएको छ ।

अन्तिम स्वीकृति र अभिलेख व्यवस्थापन

सांसदहरूले स्वकीय सचिव छनोट गरे तापनि नियुक्ति दिनुअघि रास्वपा संसदीय दलबाट अनिवार्य रूपमा अन्तिम स्वीकृति लिनुपर्नेछ। यदि नियुक्तिसम्बन्धी कुनै विवाद वा प्रश्न उठेमा पार्टीले गरेको निर्णय नै अन्तिम हुनेछ ।

नियुक्त भएका स्वकीय सचिवको व्यक्तिगत विवरण र शैक्षिक प्रमाण(पत्र संसद् सचिवालयका साथै रास्वपाको केन्द्रीय कार्यालयमा समेत दर्ता गराउनुपर्ने प्रावधान बनाइएको छ ।

आर्थिक पारदर्शिता र कार्यसम्पादन मूल्याङ्कन

राज्यबाट प्राप्त हुने पारिश्रमिक सिधै स्वकीय सचिवको बैंक खातामा जम्मा हुनुपर्ने र सो रकमबाट कुनै पनि किसिमको कटौती, असुली वा आर्थिक हिनामिना गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ । कागजी रूपमा मात्र पीए राखेर रकम असुल्ने वा गैरकानुनी काम गर्ने कार्यलाई गम्भीर आर्थिक अनुशासनहीनता मानिनेछ । सांसदहरूले आफ्ना स्वकीय सचिवको कार्यसम्पादनको नियमित मूल्याङ्कन गरी सोको प्रतिवेदन संसदीय दलमा बुझाउनुपर्नेछ।

सख्त आचारसंहिता र पदमुक्तिको व्यवस्था

स्वकीय सचिवले सांसदको कार्यालय, पार्टीका गतिविधि र संवेदनशील सूचनाहरूको गोपनीयता कडाइका साथ कायम राख्नुपर्नेछ । यदि कसैले नातेदार नियुक्त गरेको, कागजी पीए खडा गरेको, आर्थिक अनियमिततामा संलग्न भएको वा गोपनीयता भंग गरेको पाइएमा केन्द्रीय अनुशासन समितिमार्फत कडा कारबाही गरिनेछ ।

सन्तोषजनक काम नगरेमा वा पदीय आचरणविपरीत काम गरेमा सांसदले संसदीय दललाई जानकारी गराएर स्वकीय सचिवलाई जुनसुकै बेला पदमुक्त गर्न सक्नेछन् ।


सम्बन्धित समाचार