११ साउन,वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालले शनिबार अस्पतालमा भएको आक्रमण र तोडफोड घटनामा संलग्न व्यक्तिहरूको सीसीटीभी फुटेजका आधारमा पहिचान गरी आवश्यक कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।
अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन शाहले सोमबार जारी गरेको विज्ञप्तिमा घटनासम्बन्धी सीसीटीभी फुटेज सम्बन्धित निकायलाई उपलब्ध गराइसकिएको उल्लेख गर्दै फुटेजका आधारमा दोषीहरूको पहिचान गरी कानुनबमोजिम कारबाही गर्न आग्रह गरिएको छ।
शनिबार वीरगञ्ज महानगरपालिका–२५ निवासी ५० वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्तले चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाउँदै अस्पतालमा प्रदर्शन गरेका थिए।
अस्पताल प्रशासनले भने प्रदर्शनका क्रममा मृतकका आफन्तले चिकित्सकमाथि सांघातिक आक्रमण गरेको जनाएको छ। अस्पतालका अनुसार आक्रमणबाट डा. प्रमोद राम गम्भीर घाइते भएका छन् र उनको आईसीयूमा उपचार भइरहेको छ।
अस्पतालले घटनापछि चिकित्सक तथा स्वास्थ्यकर्मी मानसिक र शारीरिक रूपमा त्रसित भएकाले सेवा प्रवाह प्रभावित भएको जनाएको छ। सुरक्षा अभावका कारण अस्पतालका अधिकांश विभागको सेवा अवरुद्ध भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
यस घटनापछि पीडित पक्ष र अस्पताल प्रशासनबीच घटनाको छानबिन गर्न समिति गठन गर्ने सहमति भएको छ। साथै, घटनाको समयमा आकस्मिक कक्षमा खटिएका केही चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निलम्बन गर्ने निर्णयसमेत गरिएको अस्पतालले जनाएको छ।
यसैबीच, घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही तथा स्वास्थ्यकर्मीको सुरक्षाको माग गर्दै विभिन्न अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले विरोध प्रदर्शनलाई निरन्तरता दिएका छन्।
यो पनि पढ्नुहोस :-
बिरामीको मृत्यु भएपछि नारायणी अस्पतालमा तोडफोड,आकस्मिक कक्षमा तनाव
नारायणी अस्पतालमा बिरामीको मृत्यु भएपछि तनाव, छानबिन गर्न समिति गठन
नारायणी अस्पताल घटनास् पाँच स्वास्थ्यकर्मी जिम्मेवारीबाट हटाइए,छानबिन गर्न समिति गठन
नारायणी अस्पताल घटनाको विरोधमा पोखरिया अस्पतालमा चिकित्सकको प्रदर्शन,स्वास्थ्यमन्त्रीको राजीनामा माग
हेर्नुहोस् विज्ञप्ति :-





















