Logo

११जेठ,वीरगञ्ज । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट प्रतियोगितामा सट्टाबाजी (जुवा) खेलाउने धन्दामा संलग्न रहेको आरोपमा पर्सा प्रहरीले वीरगञ्जबाट एक भारतीयसहित चार जनालाई पक्राउ गरेको  छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले आइपिएलमा बुधबार राति भएको मुम्बई इन्डियन्स र लखनउ सुपर जाइन्ट्सबिचको खेलमा सट्टाबाजी खेलाएको आरोपमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ का ३४ वर्षीय धुरेन्द्रप्रसाद यादव, बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ४ का ३१ वर्षीय सरोज साह, सर्लाहीको रामनगर गाउँपालिका वडा नम्बर ६ का ३५ वर्षीय सन्तोषकुमार यादव र भारतको उत्तर प्रदेश राज्यको गोरखपुर देवरियाका ५२ वर्षीय मुन्ना भनिने धर्मनाथ प्रसाद जयसवाललाई पक्राउ गरेको हो ।

पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार, वीरगन्ज महानगरपालिका वडा नम्बर १५ स्थित सञ्जय श्रीवास्तवको घरमा बुधबारराति आइपिएल प्रतियोगिताको अनलाइन सट्टाबाजी खेलाइरहेकै अवस्थामा उनिहरुलाई पक्राउ गरेको हो।श्रीवास्तवको घरमा आइपीएलको सट्टाबाजी चलिरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट नगद ३ लाख ९० हजार ५०० सय नेपाली रुपैयाँ र १५ हजार ७५० भारतीय रुपैयाँ पनि बरामद गरेको छ ।यस्तै अनलाइन सट्टाबाजीका लागि प्रयोग भइरहेको विभिन्न कम्पनिको मोबाईल, ल्यापटप र टेलीभिजन सेट पनि जफत गरिएको गिरिले जानकारी दिए ।

त्यसक्रममा यादवद्वय, साह र जयसवाललाई अनलाइन सट्टाबाजी खेलाइरहेकै अवस्थामा रङ्गे हात पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक गिरिले बताए ।
पक्राउ परेकाहरुमाथि अनलाइन सट्टाबाजीको मुद्दा चलाएर पर्सा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको गिरिले बताए ।


सम्बन्धित समाचार