Logo

१८ वैशाख, वीरगञ्ज । विशेष आदालतले अधिकृत हरिओमप्रसाद जयसवाललाई पाँच मुद्दामा सफाइ दिएको छ । जयसवाल बाराको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न मितिमा दायर गरेका पाँचवटा मुद्दामा विशेष अदालतले उनलाई सफाइ दिएको हो ।

सोमबार यी पाँचै मुद्दा विशेषका अध्यक्ष टेकनारायाण कुँवर तथा सदस्य मुरारीबाबु श्रेष्ठको इजलासमा परेका थिए। उनीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी नपुग्ने भन्दै जयसवालसमेतका प्रतिवादीलाई सफाइ दिएका हुन् ।

अख्तियारले जयसवालसमेतका विरुद्ध गत वर्ष ३ जेठमा र २४ साउनमा गैरकानुनी लाभका दुई मुद्दा दायर गरेको थियो। यसैगरी, २० असार २०८० मा झुट्ठा विवरण पेस गरी भ्रष्टाचार गरेको भन्दै थप तीन मुद्दा दायर भएका थिए। यी सबैमा सफाइ दिने फैसला भएको हो ।

मधेश प्रदेश सरकारको योजनामा निकासा गरी कार्यसम्पन्न नहुँदै रकम भुक्तानी गरेकोजस्ता अभियोग उनीसमेत नगरपालिकाका कर्मचारी, उपभोक्ता समितिका पदाधिकारी, ठेकेदारलगायतमाथि मुद्दा दायर भएको थियो ।

सामुदायिक भवन निर्माण, खेल मैदान, संग्रहालय भवन निर्माण, सडक ढलानजस्ता कार्यमा अनियमितता भएको अख्तियारको दाबी थियो ।


सम्बन्धित समाचार