Logo

२ माघ, वीरगञ्ज । बारामा मोटरसाईकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । सिम्रौनगढ नगरपालिका–१ बैरिया बस्ने २३ वर्षीय कासिम अन्सारी र २२ वर्षीय तहिद अन्सारीको मृत्यु भएको हो ।

आईतबार राति ९ बजे महागढीमाई नगरपालिका–९ थलही पुलमा गढीमाईबाट श्रीनगर तर्फ जाँदै गरेको ना २६ प २२९५ नम्बरको पल्सर मोटरसाईकल अनियन्त्रित भई पुल मुनी खसेको थियो । मृतक र घाईते तीनै जना एउटै मोटरसाईकलमा सवार थिए ।

उनीहरु दुवै जनाको शव खोजतलासको क्रममा थलही खोलामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । दुर्घटनामा बैरियाकै २२ वर्षीय गुड्डु अंसारी सामान्य घाईते छन् । उनको शरीरमा समान्य चोट मात्रै रहेकोले घरमा नै आराम गरिरहेको प्रहरीले जनाएको छ ।

मोटरसाईकलमा तीन जना चढेको बारा प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाईते भएका गुड्डुले नै घरमा आफन्तलाई मोटरसाईकल दुर्घटना भएको जानकारी गराएका थिए । प्रहरी टोली घटनास्थल पुग्दा मोटरसाईकल थलही खोलामा नै भेटिएपनि मोटरसाइकल चालक र त्यसको पछाडी बस्ने कासिम र तहीद भेटिएका थिएनन् ।

खोजतलासको क्रममा कासिमलाई बिहान ९ बजे घटना स्थल भन्दा २ किलोमिटर दक्षिण तर्फ खोला किनारमा घोप्टो परेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । त्यसैगरि तहिदको शव आज दिउँसो १२ः५० बजे पुलभन्दा १ सय मिटर दक्षिण तर्फ खोलाको मध्य भागमा भेटिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


सम्बन्धित समाचार