Logo

१० माघ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका भित्र संचालनमा रहेका निजी विद्यालयले सरस्वती पूजाको नाममा अभिभावकसँग चन्दा असुली गरेको रहस्य खुलेको छ ।

महानगरमा पर्ने १० भन्दा बढि विद्यालयले विद्यार्थीको विलमा सरस्वती पूजा खर्च भन्दै रकम माग गरेको अभिभवकहरुले बताएका छन । विद्यालयले प्रति विद्यार्थी १ सय देखि ४ सय रुपैयाँसम्म असुल गरेको पाईएको छ ।

वीरगञ्जको जीएचपी स्कुलले प्रति विद्यार्थी १ सय २० रुपियाँ, ज्ञानज्योती माविले २ सय, गोल्डेन फ्युचर माविले ४ सय, ओम नेशनल एकाडेमी एकसय, जीवनज्योती स्कुलले २ सय, घडिअर्वास्थित सिटी स्कुल अफ वीरगञ्ज २५० रुपियाँ पूजा खर्च भनेर विद्यार्थीसँग लिएको हो ।

त्यसैगरी वीरगञ्जमा रहेको एन्जल एकाडेमी २ सय, जेम्स स्कुल अफ डकैला बहुअरी २ सय, मेरिगोल्ड स्कुल एक सय ५० रुपियाँ, ममता बोर्डिङ र मनकामना स्कुलले एक सय रुपैयाँ विद्यार्थीसँग असुल गरेका छन् ।

यसरी ५ देखि १० रुपैयाँको प्रसाद दिएर १ सय भन्दा बढि चन्दा असुल गर्न निजी विद्यालय सक्रिय भएको अभिभावक सघं पर्साका अध्यक्ष सन्दिप साहको आरोप छ । सरस्वती पुजाको नाममा अहिले विद्यालयले व्यापार गरेको अभिभावकहरुले गुनासो गरेका छन् ।

विद्यालयको यस्तो गतिविधि विरुद्ध साउथजोन, मनकामना र ममता बोडिङका अभिभावकले आफूहरुलाई अनावश्यक आर्थिक भार बढेको भन्दै निवेदन लेखेको र उक्त निवेदन आफुले वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेललाई बुझाएको साहले बताए ।

यसरी विद्यालयको यस्तो व्यापारीक गतिविधि रोक्न अभिभावक संघका अध्यक्ष साहले माग गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले भने शैक्षिक प्रशान महाशाखलाई प्रचलित कानुन बमोजिम गर्न गराउन निर्देशन दिएको बताए ।

निजी विद्यालयका संचालकहरुले भने सरस्वती पूजाको लागि विद्यालयमा छुट्टै कोष नभएकोले अभिभावकको सहयोगमा यस्ता कार्यक्रम संचालन हुने गरेको बताएका छन् । उनीहरुले विगत बर्षहरुमा समेत अभिभावकले सरस्वती पूजाको लागि खर्च दिने गरेको भनाई छ ।

यसैबिच सरस्वती पूजा नजिकिएसँगै मुख्य सडक देखि भित्री सडकमा चन्दा माग्ने क्रम बढेको छ । बाटोमा बालबालिकाले बाटो छेकेर चिट काट्ने गरेको अहिले धेरै ठाउँमा देखिएको छ ।

पूजाकै लागि भनेर जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति पत्र काटेर मात्र चन्दा लिन सक्ने पर्साका प्रहरी उपरिक्षक कोमल शाहको भनाई छ । स–साना बालबालिकाले यसरी चन्दा माग्दा उनीहरुको बानी बिग्रने हुनाले यस्ता कार्यलाई निरुत्साहित गर्न अभिभावकहरुले आफ्ना बच्चाहरुलाई सचेत गर्नु पर्ने एसपी शाहको भनाई छ ।


सम्बन्धित समाचार