६ कार्तिक, वीरगञ्ज । दीपावलीको उल्लास, मिठाइ र राती अबेरसम्म रमाईलो गर्नुभएको होला । तर, अब ती मीठा परिकार र तेलमा भुटेका स्न्याक्सको असरले शरीरमा थकान, सुस्ती र भारीपन महसुस हुन थालेको छ ? स्वास्थ्य विशेषज्ञहरूका अनुसार, यस्ता लक्षणहरू सामान्य हुन् र केही सजिला घरेलु उपाय अपनाएर शरीरलाई पुनः ताजा र सक्रिय बनाउन सकिन्छ ।
पर्वका समयमा अत्यधिक तेल, नुन र चिनीयुक्त खानेकुराको सेवनले शरीरमा विषाक्त तत्व (टक्सिन) जम्मा हुन्छ । जसका कारण पाचन प्रणाली कमजोर, ऊर्जा स्तर घट्ने र ब्लोटिङ अर्थात् पेट फुल्ने समस्या देखिन्छ । अब शरीरलाई पुनः सन्तुलित बनाउनका लागि हल्का डिटक्स (शुद्धिकरण) प्रक्रिया अपनाउनु उपयोगी मानिन्छ ।
त्यसका लागि यहाँ केही प्रभावकारी र सजिला उपायहरू प्रस्तुत छन् :
बिहान नुनिलो पानी होइन, निंबु-महको गुनगुना पानी
प्रत्येक बिहान खाली पेट एक गिलास गुनगुना पानीमा आधा निंबुको रस र आधा चम्चा मह मिसाएर पिउनुहोस् । यसले शरीरभित्रका टक्सिनहरू हटाउँछ, पाचन प्रणालीलाई सशक्त बनाउँछ र तौल नियन्त्रणमा पनि सहयोग पु¥याउँछ ।
चिनीबाट केही समय ब्रेक लिनुहोस्
दिवालीमा खाइने काजू कतली, लड्डु, पेढा, खीरजस्ता मिठाइहरूले शरीरमा अत्यधिक ग्लुकोजको मात्रा बढाउँछन् । अब कम्तीमा दुई–तीन हप्ता चिनी वा अत्यधिक मिठो खानेकुराबाट टाढा रहनुहोस् । यसले शरीरमा इन्सुलिन सन्तुलन पुनः कायम गर्न र सुस्ती हटाउन मद्दत गर्छ ।
फाइबरयुक्त खानाको प्रयोग बढाउनुस्
फाइबर प्राकृतिक डिटक्सको रूपमा काम गर्छ । यसले पाचन सुधार गर्छ र शरीरभित्रका विषाक्त तत्वलाई बाहिर निकाल्न सहयोग पु¥याउँछ । आफ्नो दैनिक आहारमा काक्रो, गाजर, सलाद, हरियो सागसब्जी, अंकुरित अन्न र मौसमी फलहरू समावेश गर्नुहोस् । थोरै मात्रामा भिजाएका बदाम र अखरोट खानु पनि शरीरका लागि लाभदायक हुन्छ ।
प्रशस्त पानी पिउनुहोस्
शरीरलाई हाइड्रेट राख्नु डिटक्सको सबैभन्दा सजिलो तर प्रभावकारी उपाय हो । दिनभरमा कम्तीमा आठ गिलास पानी पिउनुहोस् । चाहे मोबाइलमा रिमाइन्डर राख्नुस् वा पानीको बोतल सधैं साथमा राख्नुस् – यसले शरीर सफा राख्न र छालालाई स्वस्थ बनाउन मद्दत गर्छ ।
शरीरलाई चलायमान राख्नुस्
पर्वपछि देखिने आलस्य हटाउनका लागि हल्का व्यायाम, योग, स्ट्रेचिङ वा पैदल हिँड्ने बानी बसाल्नुस् । यसले रगतको सञ्चारलाई सक्रिय बनाउँछ, शरीरबाट टक्सिन बाहिर निकाल्न सहयोग गर्छ र मानसिक स्फूर्ति पनि बढाउँछ ।
पर्याप्त निद्रा लिनुहोस्
पर्वका दिनहरूमा बढी काम र भेटघाटका कारण निद्रा अपूरो हुन सक्छ । रोजाना सातदेखि आठ घण्टा आरामदायी निद्रा लिनाले शरीरलाई पुनः ताजा बनाउँछ, प्रतिरक्षा शक्ति बलियो बनाउँछ र मानसिक तनाव घटाउँछ ।
स्वास्थ्य विज्ञको सल्लाह
स्वास्थ्य विज्ञहरू भन्छन् – “डिटक्सका नाममा अत्यधिक उपवास वा कठोर डायटिङ गर्नु उचित होइन । शरीरलाई प्राकृतिक रूपमा सन्तुलित बनाउन सन्तुलित आहार, पर्याप्त पानी र राम्रो निद्रा नै सबैभन्दा प्रभावकारी उपाय हुन् ।”

















