Logo

७ मंसिर, काठमाडौं । मुलुकको राजनीतिमा आएको ‘जेन–जी विद्रोह’ पछि घोषित प्रतिनिधिसभा निर्वाचन तोकिएकै मिति फागुन २१ गते हुनेमा कुनै शङ्का नरहेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्पष्ट पार्नुभएको छ । दुई वर्षअगावै हुन लागेको यो निर्वाचनका लागि आयोगले आफ्नो तयारी लगभग पूरा गरिसकेको र अब दोस्रो चरणको कार्यान्वयनमा प्रवेश गर्ने तयारीमा रहेको उहाँले बताउनुभयो ।

निर्वाचन गराउन आयोग दृढ संकल्पित

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीका अनुसार, अहिलेको सरकार नै तोकिएको मितिमा निर्वाचन गर्ने र सुशासनको सुरुवात गर्ने दुई मुख्य उद्देश्यका साथ गठन भएकोले निर्वाचनलाई कुनै हालतमा टार्न सकिँदैन। उहाँले भन्नुभयो, ‘हामीले जसरी पनि निर्वाचन गर्नुपर्छ, यसको विकल्पै छैन। आयोग यसका लागि दृढ संकल्पित छ।’ आयोगले निर्वाचन पूर्वका सम्पूर्ण तयारी, जस्तै आवश्यक निर्देशिका निर्माण, आचारसंहिता तर्जुमा र भौतिक पूर्वाधारको व्यवस्थापन लगभग पूरा गरिसकेको छ । उहाँले यस पटक निर्वाचन खर्चलाई मितव्ययी बनाउन पुरानै सामग्री प्रयोग गर्ने र आवश्यक सामग्रीहरू मात्रै स्वदेशी बजार तथा टेन्डर प्रक्रियाबाट खरिद गर्ने नीति लिइएको जानकारी दिनुभयो ।

दलहरूको प्रतिबद्धताः बहिष्कारको घोषणा छैन

निर्वाचनको विश्वसनीयतामाथि उठिरहेका संशयका बीच भण्डारीले सबै राजनीतिक दलहरू प्रक्रियामा सहभागी हुन प्रतिबद्ध रहेको दाबी गर्नुभयो। ‘हामीलाई कुनै पनि दलले निर्वाचन प्रक्रियाबाट बाहिर बस्छौं भनेका छैनन्,’ उहाँले भन्नुभयो। हालसम्म थुप्रै दलहरू निर्वाचनमा भाग लिनका लागि दर्ता भइरहेको र सबै दलहरू आफ्ना नीति लिएर जनतामा जाने विश्वास आयोगले लिएको उहाँको भनाइ छ । एमालेको संसद् पुनःस्थापनाको आवाज वा जेन(जीको नयाँ शक्तिप्रति आयोग प्रवेश नगरी, सबैलाई प्रतिस्पर्धामा आउन आग्रह गरिएको उहाँले उल्लेख गर्नुभयो ।

सरकारको पूर्ण सहयोग र सुरक्षाको सुनिश्चितता

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले निर्वाचनका लागि सरकारबाट अत्यन्त राम्रो सहयोग प्राप्त भइरहेको र आर्थिक स्रोतको सुनिश्चितता भएको बताउनुभयो। शान्ति–सुरक्षाको विषयमा सरकारका मन्त्री र सबै सुरक्षा निकायका प्रमुखहरूले आयोगसँग पूर्ण प्रतिबद्धता जाहेर गरेकाले निर्वाचनमा सुरक्षाको कुनै समस्या नरहने उहाँको विश्वास छ।

हाल सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा विचाराधीन रहे पनि आयोग आफ्नो तयारीबाट पछि नहट्ने उहाँले स्पष्ट पार्नुभयो। ‘अदालतको विषय अदालतलाई नै छाडिदिऔं। आयोग बृहत् रूपमा निर्वाचनको तयारीमा लागेको छ,’ उहाँले भन्नुभयो। निर्वाचनको कार्यतालिकामा हेरफेरको कुनै सम्भावना छैन र निष्ठापूर्वक स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेरै छाड्ने आयोगको दृढता रहेको उहाँले दोहोर्याउनुभयो ।


सम्बन्धित समाचार