१४ पुस, वीरगञ्ज । पर्सा प्रहरीले स्रोत नखुलेको ६ लाख ७१ हजार ९ सय ५० रुपैयाँ हुण्डी रकमसहित तीन जनालाई पक्राउ गरेसँगै सीमावर्ती वीरगञ्ज क्षेत्रमा सक्रिय अनौपचारिक पैसाको कारोबार फेरि एकपटक अनुसन्धानको घेरामा आएको छ।
विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका–१० मकालु चोकबाट पक्राउ परेका तीनै जना भारतीय नागरिक हुन्। उनीहरूबाट बरामद रकम सिधै खल्ती र ज्याकेटबाट फेला परेको थियो । उक्त रकम कतै डेलिभरीका लागि लगिरहेको अवस्थामा बरामद गरिएको थियो।
प्रहरी स्रोतका अनुसार यो रकम कुनै व्यक्तिगत प्रयोजनका लागि नभई ‘क्यारीयर’ मार्फत गन्तव्यमा पुर्याइने हुण्डी प्रणालीको हिस्सा हुनसक्ने आशंका गरिएको छ।
प्रहरीका अनुसार वीरगञ्ज–रक्सौल नाका केन्द्रित हुण्डी कारोबार अहिले बैंकिङ प्रणाली बाहिर, मोटरसाइकल र पैदल आवतजावत गर्ने ‘क्यारीयर’ मार्फत सञ्चालन भइरहेको देखिन्छ। पक्राउ परेका अनवर मिया र उनका छोरा महमद कैफ अहमद एउटै मोटरसाइकलमा सवार हुनु र छुट्टाछुट्टै खल्तीमा ठूलो रकम बोकेर हिँड्नुले पारिवारिक नेटवर्क प्रयोग गरेर रकम सार्ने काम भएको प्रहरीको दावी छ ।
यसैगरी अर्को मोटरसाइकलमा सवार फूल महमदको पक्राउ पनि एउटै स्थान र समय वरिपरि हुनु संयोग मात्र नभई समन्वित डेलिभरीको सम्भावना रहेको प्रहरीको विश्लेषण छ।
प्रहरीका अनुसार अहिलेसम्म बरामद रकमको स्रोत खुल्न सकेको छैन। प्रारम्भिक बयानमा पक्राउ परेकाहरूले रकम कसले दिएको, कहाँ पुर्याउन लागिएको थियो भन्नेबारे अस्पष्ट जवाफ दिएका छन्। यसले पछाडि ‘हब’ का रूपमा काम गर्ने मुख्य हुण्डी कारोबारी अझै सक्रिय रहेको र पक्राउ परेकाहरू केवल माध्यम मात्र हुन सक्ने आशंका बलियो बनाएको छ।
अनुसन्धान टोलीले मोबाइल कल डिटेल, ह्वाट्सएप, म्यासेजिङ एप प्रयोग, पछिल्ला दिनको आवतजावत र सीमापार सम्पर्कहरूको विवरण संकलन गरिरहेको जनाएको छ।
पक्राउ परेकाहरू विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ ९क० अनुसार ‘हुण्डी सम्बन्धी कारोबार गर्न नहुने’ कसुरमा पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार, यदि रकमको स्रोत, नेटवर्क र संगठित संरचना पुष्टि भएमा मुद्दा गम्भीर आर्थिक अपराधको श्रेणीमा प्रवेश गर्नेछ।
सीमावर्ती क्षेत्रमा हुण्डी कारोबार सुन तस्करी, अवैध आयात–निर्यात र मानव तस्करीजस्ता अपराधसँग पनि जोडिने गरेको विगतका घटनाहरूले देखाएका छन्। पछिल्लो समय औपचारिक माध्यमबाट सुन आयात ठप्पजस्तै रहँदा बजारमा कारोबार चलिरहनु र यससँगै हुण्डी गतिविधि बढ्नु संयोग मात्र नभएको विश्लेषकहरू बताउँछन्।
यस घटनाले सीमावर्ती वीरगञ्ज क्षेत्रमा सक्रिय पुराना हुण्डी नेटवर्क पुनः सतहमा आउन सक्ने संकेत गरेको छ। अबको अनुसन्धानले पक्राउ परेका व्यक्तिभन्दा माथिल्लो तहका सञ्चालकसम्म पुग्न सक्छ कि सक्दैन, त्यसले नै यो घटनाको वास्तविक प्रभाव निर्धारण गर्नेछ।















