Logo

३ बैशाख, वीरगञ्ज । उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले आफू मन्त्री भएपनि जनताको सेवक भएर काम गर्न चाहेको बताउनु भएको छ । मन्त्री बनेपछी पहिलो पटक गृह जिल्ला पर्सा पुग्नु भएका मन्त्री रिजालले आफूले गरेको काममा जनताको मार्गनिर्देशन चाहिने भएकोले दिल खोलेर सहयोग गर्न जिल्लाबसीलाई आग्रह गर्नु भयो ।

मन्त्री बनेपछि आइतबार पहिलोपटक गृह जिल्ला आएका मन्त्री रिजाललाई पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ५ मसिहानीको धर्मपुरमा नेपाली कांग्रेसको क्षेत्रीय कार्यसमितिले स्वागत तथा सम्मान कार्यक्रम आयोजना गरेको थियो ।

कांग्रेसका क्षेत्रीय सभापति तथा जगरनाथपुर गाँउपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा ५१ किलोको फुलमाला लगाएर मन्त्री रिजालको स्वागत र सम्मान गरिएको थियो ।

त्यसअघि मन्त्री रिजालले मधुवाहा क्रिकेट मैदानमा आयोजित प्रथम गाँउपालिका अध्यक्ष क्रिकेट प्रतियोगिताको उद्घाटन पनि गरेका थिए ।उक्त कार्यक्रममा पनि मन्त्री रिजाललाई ८० किलोको फुलमाला लगाएर सम्मान गरिएको थियो ।

मन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला आइपुगेका मन्त्री रिजाललाई आइतबार दिउँसो सिमरा विमानस्थलमा पनि पर्साका कांग्रेस नेता कार्यकर्ताले भव्य स्वागत गरेका थिए । त्यसपछि वीरगन्ज स्थित कांग्रेसको पार्टी कार्यालयमा पनि मन्त्री रिजाललाई स्वागत र सम्मान गरिएको थियो ।

४० बर्षको सक्रिय राजनीति पछि पहिलो पटक मन्त्री बन्नु भएका रिजालको स्वागतका लागि हजारौंको संख्यामा पर्साबासिको उपस्थिति रहेको थियो । पर्सा निर्वाचन क्षेत्र नंं ४ बाट तीन पटकको हार र चार पटकको जित पछि नेपाली कांग्रेसका नेता समेत रहेका रिजाल अहिले पहिलो पटक मन्त्री बन्नु भएको हो ।

गृह जिल्ला भ्रमणका क्रममा बिभिन्न औपचारिक कार्यक्रममा सहभागी हुने मन्त्री रिजालका स्वकिय सचिव राकेश यादवले जानकारी दिनु भयो ।


सम्बन्धित समाचार