६ वैशाख, वीरगञ्ज । त्रिभुवन राजपथ अन्तर्गत वीरगञ्जको गण्डकदेखि मितेरी पुलसम्मको मुख्य सडक खण्डलाई फराकिलो बनाउने अभियान आज बिहानैदेखि औपचारिक रूपमा सुरु भएको छ । सर्वोच्च अदालतले सडक विस्तारको बाटो खुला गरेपछि सडक डिभिजन कार्यालय हेटौंडाले आक्रामक रूपमा विस्तार कार्य अघि बढाएको हो ।
विस्तार कार्यका लागि डिभिजन कार्यालयले गण्डक, पावरहाउस, घण्टाघर, आदर्शनगर र मितेरी पुल क्षेत्रमा एकैसाथ नौ वटा डोजर, जेसीभी र एक्साभेटरसहित ठूलो संख्यामा जनशक्ति परिचालन गरेको छ । सडकको दायाँ–बायाँ २५–२५ मिटर क्षेत्रमा रहेका स्थायी तथा अस्थायी संरचनाहरू हटाउन डोजर चलाइएको छ ।
यसअघि सो क्षेत्रका १ हजार २ सयभन्दा बढी घरधनीले सडक विस्तारले आफूहरूको बसोबास जोखिममा परेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । लामो समयसम्म विचाराधीन रहेको उक्त मुद्दामा गत फागुन २८ गते सर्वोच्चले सडक विस्तारको पक्षमा फैसला सुनाउँदै रिट खारेज गरिदिएको थियो । अदालतको उक्त फैसलापछि लामो समयदेखि रोकिएको सडक विस्तारको कानुनी बाटो खुलेको हो ।
कानुनी बाटो खुले पनि प्रशासनले काम सुरु गर्नुभन्दा केही समय अघि मात्रै सूचना जारी गरेर १२ घण्टाभित्र संरचना खाली गर्न दिएको ‘उर्दी’ ले स्थानीय बासिन्दा मर्माहत बनेका छन् । बिना पूर्वतयारी र व्यवस्थित समय नदिई डोजर चलाइएको भन्दै स्थानीयहरूले आक्रोश व्यक्त गरेका छन् ।
अकस्मात् सुरु भएको भत्काउने अभियानका कारण सो क्षेत्रको विद्युत लाइन समेत काटिएको छ, जसले गर्दा जनजीवन थप प्रभावित बनेको छ । अहिले विस्तार भइरहेका ती क्षेत्रहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ । डोजरको आवाजसँगै आफ्नो वर्षौँको घरबार भत्किन लागेको टुलुटुलु हेर्न बाध्य स्थानीयहरू यतिबेला निकै तनाव र पीडामा देखिएका छन् ।



















