Logo

१३ असोज, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को ४१ औं त्रैवार्षिक महासभामा सम्वोधन गर्दै नेपाली आकाश सुरक्षित रहेको बताएका छन ।

क्यानडाको मड्रियल शहरमा जारी महासभामा बुधवार सम्बोधन गर्दै मन्त्री श्रेष्ठले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले प्रतिपादन गरेका मापदण्ड र सुझाव अनुरुप हवाई सुरक्षामा नेपालले उल्लेखनीय प्रगति गरेको बताएका छन। आईकाओको प्रतिवेदनमा हवाई सुरक्षा मापदण्ड परिपालनमा नेपालको अङ्क विश्वव्यापी मापदण्डभन्दा बढी रहेको बताउदै मन्त्री श्रेष्ठले नेपाली आकाश सुरक्षित रहेको बताए ।

उड्डययन क्षेत्रलाई सुरक्षित, भरपर्दो र स्तरीय बनाउने सरकारको प्रतिवद्धता रहेको मन्त्री श्रेष्ठले बताए । नेपालको भू–धरातललाई दृष्टिगत गर्दा हवाई यातायातको बिकल्प नभएको भन्दै उहाँले हवाई सेवालाई सुरक्षित, नियमित, स्तरीय र प्रभावकारी बनाउन नेपाल सरकार प्रतिवद्ध रहेको बताए । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भइसकेको तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा रहेको बताउनुहुँदै उहाँले हवाई सम्पर्क विस्तार, विमानस्थल स्तरोन्नती तथा नयाँ विमानस्थल निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताए ।

यसअघि मन्त्री श्रेष्ठले आइकाओ मुख्यालयमा महासचिव जुआन कार्लोस सालजा र आइकाओ काउन्सिल अध्यक्ष साल्भाटोर साचिटानोसँग भेट गरी नेपालले हवाई सुरक्षा अभिवृद्धिमा उल्लेख्य सुधार गरेकाले इयुले नेपाललाई उडान सुरक्षासूचीमा राखिरहनुको औचित्य नरहेको बताए ।


सम्बन्धित समाचार