Logo

वीरगञ्जको इनर्वा नाकामा परिचालन गरिएका तालिम प्राप्त कुकुर

२९ कार्तिक, वीरगञ्ज । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न स्थानीय प्रशासनले सीमा क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको र सीमावर्ती सरह रक्सौलबाट नेपाल प्रवेश गर्ने मुख्य नाकामा तालिम प्राप्त कुकर प्रयोग गरेर चेकजाँचमा कडाई गरिएको छ ।

नेपाल प्रवेश गर्ने प्रमुख प्रवेशद्वार शंकराचार्य गेटसहित रजतजयन्ती क्षेत्रमा तालिम प्राप्त कुकुर सहित सुरक्षा व्यवस्था कडा पारिएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए । उनका अनुसार मुख्य नाकामा विपद् व्यवस्थापन गुल्मका तालिम प्राप्त कुकुर, नेपाल प्रहरी र एवम् सशस्त्र प्रहरीले चेकजाँचमा कडाइ गरेका छन् । भारतबाट प्रवेश गर्ने पैदल यात्रुदेखि सवारी साधनको चेकजाँचमा कडाइ गरिएको छ ।

निर्वाचनलाई विथोल्न बिष्फोटक पदार्थ तथा साना हातहतियारको प्रयोग हुन सक्ने संभावनालाई मध्यनजर गर्दै सिमानाकामा सुरक्षा सर्तकता बढाइएको प्रजिअ ढकालले बताए । मितेरी पुल, शंकराचार्य गेट तथा छपकैया, सिर्सिया छोटी भन्सार नाकामा तालिम प्राप्त कुकुर सहितको टोलीले नियमित गस्ती र चेकजाँच गरिरहेको छ उनले भने ।

नेकपा विप्वल लगायत केही साना राजनीतिक समूहले निर्वाचन विथोल्ने निर्णय गरेको र विभिन्न ठाउँमा निर्वाचन वहिष्कार गरौ भन्ने नारा सहित वालपेन्टिङ गरेका छन् । खुला सीमाको कारण बिष्फोटक पदार्थ र साना हतियारको ओसारपोसार हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै पर्सा र बाराको सुरक्षा निकायले सतर्कता र निगरानी बढाएको प्रजिअ ढकालले बताए ।

निर्वाचनलाई भय रहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले विशेष सुरक्षा योजना बनाएर लागु गरिएको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए । निर्वाचनमा कुनैपनि शंकास्पद गतिविधि हुन नदिन तीन वटै सुरक्षा निकायलाई विशेष चनाखो हुन निर्देशन दिईसकिएको प्रमुख जिल्ला अधिकारी ढकालको भनाई छ । पर्सामा निर्वाचन अवधिभर करिव ४ हजार ५ सय सुरक्षाकर्मी परिचालन गरिनेछ ।

निर्वाचनलाई शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होमेन्द्र बोगटीले बताए । भारतसँग खुला सिमाना जोडिएको बारा जिल्लामा निर्वाचन लक्षित विशेष सुरक्षा योजना लागु गरिएको प्रहरी उपरिक्षक बोटीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय बाराले कटुवा पेस्तोल एक थान र एके ४७ सिसिसिपी कम्पनीको चक्कु सहित एकजनालाई पक्राउ गरेको

बारा जिल्लाका सीमावर्ती क्षेत्रमा साना हतियारको ओसारपोसार हुन सक्ने संभावित स्थानमा निगरानी बढाइएको र संकास्दपद ठाउँहरुमा सर्च अभियान समेत चलाइएको बोगटीले बताए । उनका अनुसार बारा पचरौता नगरपालिका वडा नं. ९ को तियरखोला पुलबाट केही दिन अघि नलकटुवा पेस्तोल सहित एक जनालाई पक्राउ गरेको छ । पचरौता नगरपालिका वडा नं ८ बाजोपट्टी बस्ने बर्ष २९ का अमरराय यादवलाई घरेलु कटुवा पेस्तोल एक थान र एके ४७ सिसिसिपी कम्पनीको चक्कु एक थान सहित पक्राउ गरिएको प्रहरी उपरिक्षक बोगटीले बताए ।

बारा जिल्लाको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउने उदेश्यले सुरक्षाकर्मीलाई परिचालन गरिएको छ, प्रहरी उपरिक्षक बोगटीले भने “निर्वाचन लक्षित तीनतहका सुरक्षा निकाय विच समन्वय गरि सयुक्त रुपमा सुरक्षाकर्मी परिचालन गरिएको र निर्वाचन विथोल्न खोज्ने समूहको नगरानी बढाइएको छ ।”


सम्बन्धित समाचार