२७ असार,काठमाडौं । असार अन्तिमतिर पुग्दासमेत पर्याप्त वर्षा नहुँदा रौतहटका किसान धान रोपाइँ गर्न नपाएर चिन्तित बनेका छन्। चन्द्रपुर नगरपालिका–२ सखुवानीका किसान खुशबहादुर बम्जन दैनिक खेत पुगेर आकाश हेर्दै फर्किन बाध्य छन्।
धानको बीउ तयार भए पनि खेत सुक्खा हुँदा रोपाइँ सुरु गर्न नसकेको बम्जनले बताए। सिँचाइको सुविधा नहुँदा आफूहरू आकाशे पानीको भरमा बस्नुपरेको उनको भनाइ छ।
“रोपाइँका लागि खेत तयार छ, आलीघारी जोतिसकेका छौँ तर पानी नहुँदा समस्या भएको छ। खेत पूरै बाँझै छन्,” बम्जनले भने।
सोही गाउँका किसान कुलदीप चौधरी पनि यस वर्षसमेत खेत बाँझै रहने हो कि भन्ने चिन्तामा छन्। गत वर्ष सिँचाइ अभावका कारण रोपाइँ गर्न नसकेको स्मरण गर्दै उनले यस वर्ष पनि पर्याप्त पानी नपर्दा बीउ ब्याडमै सुक्न थालेको बताए।
चन्द्रपुर क्षेत्रका किरण बम्जन, बाबुराम घिसिङ, उमेश चौधरीलगायत सयौँ किसानलाई गत वर्ष बाँझो बनेका खेत यस वर्ष पनि रोपाइँ नहुने चिन्ता बढेको छ।
जिल्लामा करिब ३८ हजार ५०० हेक्टर जमिन धान खेतीका लागि योग्य रहे पनि हालसम्म ६ हजार १६० हेक्टरमा मात्रै रोपाइँ भएको कृषि ज्ञान केन्द्र रौतहटले जनाएको छ।
कार्यालय प्रमुख सुरेन्द्र कुर्मीका अनुसार यतिबेलासम्म जिल्लामा ४५ देखि ५० प्रतिशतसम्म रोपाइँ भइसक्नुपर्ने भए पनि पर्याप्त वर्षा नहुँदा हाल करिब १६ प्रतिशत मात्रै रोपाइँ भएको छ।
रौतहटमा बागमती सिँचाइ आयोजनाले करिब १३ हजार हेक्टर र झाँझ सिँचाइ आयोजनाले करिब चार हजार ५०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउँदै आएको छ। बागमती सिँचाइबाट चन्द्रपुर नगरपालिकासहित वृन्दावन, गुजरा, गढीमाई, माधवनारायण नगरपालिका तथा दुर्गाभगवती गाउँपालिकाका केही क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ।
त्यस्तै झाँझ आयोजनाबाट गरुडा, माधवनारायण, गढीमाई नगरपालिका र यमुनामाई गाउँपालिकामा सिँचाइ सुविधा पुगेको छ। स्यालो ट्युबवेलबाट करिब २० प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ हुने भए पनि यसको प्रयोग तरकारी खेतीमा बढी हुने गरेको कुर्मीले बताए।
नारायणी सिँचाइ व्यवस्थापन कार्यालयअन्तर्गतको गण्डक नहरको पानी रौतहट ल्याउन सके थप चार पालिकाका खेतमा सिँचाइ सुविधा पुग्ने कृषि ज्ञान केन्द्रले जनाएको छ। बौधीमाई नगरपालिकाको बङ्कुलदेखि दुर्गाभगवती गाउँपालिकाको बडहर्वासम्म फैलिएको उक्त नहरमा लामो समयदेखि पानी सञ्चालन हुन सकेको छैन।
कुल ५२ हजार २०० हेक्टर खेतीयोग्य जमिन रहेको रौतहटमा करिब ३८ हजार ५०० हेक्टरमा धान खेती हुँदै आएको छ। गत वर्ष जिल्लामा करिब ३१ हजार ५०० हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो।
कृषि ज्ञान केन्द्रका प्रमुख कुर्मीले मनसुन सक्रिय भई निरन्तर वर्षा भए केही दिनभित्रै रोपाइँले गति लिने अपेक्षा व्यक्त गरे।



















