१२ साउन,वीरगञ्ज । नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण र तोडफोडको विरोधमा सुरु भएको आन्दोलन चर्किएको छ। घटनाको विरोध गर्दै नारायणी अस्पतालका ३० भन्दा बढी चिकित्सकले सोमबार राति सामूहिक राजीनामा दिएका छन् भने नेपाल चिकित्सक संघले मंगलबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्दको आह्वान गरेको छ।
अस्पतालका सूचना अधिकारी डा. उदय नारायण सिंहका अनुसार कुल ७० जना चिकित्सक कार्यरत रहेको नारायणी अस्पतालका ३० भन्दा बढी चिकित्सकले सोमबार राति १० बजे नै अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट चित्तरञ्जन साहसमक्ष सामूहिक राजीनामा बुझाइसकेका छन्। बाँकी ४० जना चिकित्सकले पनि राजीनामाका लागि नाम संकलन र हस्ताक्षर गरिरहेको जनाइएको छ।
गत ९ साउन (शनिबार) अस्पतालमा भएको तोडफोड तथा चिकित्सकमाथि भएको कुटपिटको विरोधमा चिकित्सकहरू आन्दोलित बनेका हुन्। आन्दोलनरत चिकित्सकहरूले प्रमुख जिल्ला अधिकारी (CDO) र जिल्ला प्रहरी प्रमुख (SP) को राजीनामा, दोषीमाथि कडा कारबाही र अस्पतालमा सुरक्षित कार्य वातावरणको ग्यारेन्टी हुनुपर्ने माग राखेका छन्।
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द
घटनामा संलग्न दोषीलाई पक्राउ गरी कारबाही नगरेको र माग राख्दा प्रहरीले उल्टै नेपाल चिकित्सक संघका केन्द्रीय कार्यकारिणी सदस्य तथा नारायणी शाखा अध्यक्ष लगायत चिकित्सकहरूलाई गालीगलौज र दुर्व्यवहार गरेको भन्दै संघ आक्रोशित बनेको छ।
नेपाल चिकित्सक संघले विज्ञप्ति जारी गर्दै मंगलबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको छ। संघले विरोधका थप सशक्त कार्यक्रमहरू समेत सार्वजनिक गर्ने जनाएको छ।
स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल
चिकित्सकहरूको आन्दोलन र अस्पताल बन्दको घोषणापछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मंगलबार एक विज्ञप्ति जारी गर्दै कुनै पनि अवस्थामा स्वास्थ्य सेवा अवरुद्ध नगर्न र निरन्तर सञ्चालन गर्न सबै अस्पतालहरूलाई निर्देशन दिएका छन्।
मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ: “स्वास्थ्य सेवा अत्यावश्यक, जीवनरक्षक र संवेदनशील सेवा भएकाले नागरिकको उपचारमा कुनै अवरोध आउनु हुँदैन। स्वास्थ्यकर्मीले सुरक्षित र सम्मानजनक वातावरणमा सेवा दिन पाउनु उनीहरूको अधिकार हो, तर नागरिकको स्वास्थ्य अधिकारलाई ध्यानमा राखेर सेवा निरन्तर प्रवाह गर्न अपिल गर्दछौँ।”
मन्त्रालयले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारको घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही अगाडि बढाउने प्रक्रिया जारी रहेको र दोषीलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरेको छ।
यो पनि पढ्नुहोस :-
बिरामीको मृत्यु भएपछि नारायणी अस्पतालमा तोडफोड,आकस्मिक कक्षमा तनाव
नारायणी अस्पतालमा बिरामीको मृत्यु भएपछि तनाव, छानबिन गर्न समिति गठन
नारायणी अस्पताल घटनास् पाँच स्वास्थ्यकर्मी जिम्मेवारीबाट हटाइए,छानबिन गर्न समिति गठन
नारायणी अस्पताल घटनाको विरोधमा पोखरिया अस्पतालमा चिकित्सकको प्रदर्शन,स्वास्थ्यमन्त्रीको राजीनामा माग
नारायणी अस्पतालले भन्यो- सीसीटीभी फुटेजका आधारमा आक्रमणकारीको पहिचान गरी कारबाही गरियोस्




















