Logo

वीरगन्ज, १४ पुष । नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगन्जले आफ्नो बार्षिकोत्सव मनाउनुका साथै १६ औं समूहका विद्यार्थीरुको बिदाई गरेको छ । बुधबार साँझ वीरगन्ज महानगरपालिका वडा नम्बर १६ भेडियाही स्थित शिक्षण अस्पतालको सभाहलमा आयोजित बार्षिकोत्सवको उदघाटन नेकपा एमालेका नेता एवं बाराको निर्वाचन क्षेत्र १ का प्रतिनिधिसभा सदस्य अच्युत मैनालीले गर्नुभएको थियो ।

उदघाटनपछि मन्तव्य राख्दै सांसद मैनालीले नेशनल मेडिकल कलेजले स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले वीरगन्जको गौरवको रुपमा रहेको मेडिकल कलेजले मानवीय स्वास्थ्यमा अझ बढी प्रभावकारी सेवा पुर्‍याउन सकोस भन्ने कामना समेत गर्नुभयो ।

संविधानसभा सदस्य अजय कुमार द्विवेदीले वीरगन्जको धरोहरको रुपमा स्थापित नेशनल मेडिकल कलेजले वीरगन्जलाई मेडिकल शिक्षाको हबको रुपमा विकास गर्न सहयोग पुर्‍याएको बताउनुभयो । उहाँले वीरगन्जमा नाम लिनुपर्ने संस्थाहरु मध्य नेशनल मेडिकल कलेज पहिलो नम्बरमा रहेको बताउदै यसले वीरगन्जलाई देश विदेशमा पहिचान दिएको बताउनुभयो ।

प्रदेशसभा सदस्य रहबर अन्सारीले वीरगन्जका एक व्यक्तित्वले स्थापना गरेको शिक्षण अस्पतालले वीरगन्जमा मात्रै नभई देश र विदेशमा समेत ख्याती कमाउन सफल भएको भन्दै अझ यसले विस्तारित रुप लेओस भन्ने शुभकामना समेत गर्नुभयो ।

मेडिकल कलेजका अध्यक्ष डाक्टर जैनुद्दीन अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा भारतीय महाविणज्यदूतावासका प्रतिनिधि लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा बारा पर्साका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, राजनीतिक दल, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा शिक्षण अस्पतालमा अध्ययनरत १६ औं ब्याजका विद्यार्थीहरुको विदाई र सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएकोे थियो । सांस्कृतिक कार्यक्रममा विभिन्न संस्कृति झल्किने पोशाक सहित विद्यार्थीहरुले नृत्य गरेर मनोरञ्जन गराएको अस्पतालका सेराज अहमदले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार