Logo

१८ पुष, वीरगञ्ज । वीरगंजमा अव्यवस्थित पार्किङ्गका कारण सर्वसाधारणलाई समस्या भएको छ । सवारी धनीले जथाभावी पार्किङ गर्नाले समस्या भएको हो । पार्किङको उचित व्यवस्थापन नहुँदा सर्वसाधारणले राजमार्गको एक छेउमै मोटरसाईकल लगायतका सवारीसाधन पार्किङ गर्ने गरेका छन् ।

सडकमै जथाभावि सवारी साधन पार्किङ गर्नाले वीरगञ्जको घण्टाघर, माईस्थान क्षेत्रमा दिनहुँ जाम लाग्ने गरेको छ । वीरगञ्जको घण्टाघरदेखि नारायणी अस्पतालसम्म सवारी साधन पार्किङ गर्ने प्रयाप्त ठाउँ नहुदाँ समस्या हुने गरेको वीरगञ्ज वडा नं.–२ का किशन साहले बताउनुभयोे । व्यवस्थित पार्किङ स्थलतको अभावले सडक किनारमै पार्किङ गर्नुपर्ने बाध्यता छ ।

तर ट्राफिक प्रहरीले मोटरसाईकलको टायरको हावा निकालीदिने, रिङ लक गरिदिने जस्ता क्रियाकलाप गरेर दुःख दिने गरेको उहाँको भनाई छ । सडकमा किनारमा सवारी पार्क गरेर सामान किन्न जाँदा चोरी हुने डर समेत रहेको उहाँले बताउनुभयो । महानगरले प्रयाप्त पार्किङ स्थलको व्यवस्थापन गनुपर्नेमा उहाँले जोड दिनुभयो ।

वीरगञ्ज महानगरले मंसिर २२ गते सरोकारवालासगं छलफल गरी ५ स्थानमा सवारी पार्किङको व्यवस्था मिलाएको बताएपनि कार्यान्वयनमा आउन सकेको छैन । चार पाङ्गे र दुई पाङ्गे सवारी साधनका लागि विर्तास्थित मालपोत कार्यालय अगाडीको जमिन, आदर्शनगरस्थित हजारमल ट्रष्टको मैदान, आदर्शनगरस्थित पुरानो बसपार्क, गीता मन्दिर छेउको रामजानकी मन्दिरको सार्वजनिक जग्गा र घण्टाघर स्थित बिपी उद्यानको खाली जमिनमा पार्किङको व्यवस्था मिलाएको जनाईएको थियो ।

तर घण्टाघर र गीता मन्दिर छेउको जमिन पार्किङका लागि प्रयोग हुन सकेको छैन भने हजारीमल पूर्ण क्षमतामा सञ्चालनमा आएको छैन । वीरगञ्जको मुख्य सडकमा हुँदै आएको एकातर्फको पार्किङ हटाउने भनिएपनि कार्यान्वयन हुन सकेको छैन ।

वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लले पहिलो चरणमा मुख्य सडकमा चार पांग्रे सवारी पार्किङ निषेध गरिएको बताउनुभयो । उहाँले मालपोत अगाडिको पार्किङ पूर्ण क्षमतामा सञ्चालनमा रहेको समेत दावी गर्नुभयो । मुख्य सडकमा पार्किङ निषेध गर्ने लक्ष्य राखिएको भएपनि पार्किङ स्थलको अभाव र सवारीधनीको बानी छुटाउन समस्या भईरहेको उहाँको भनाई छ ।


सम्बन्धित समाचार