Logo

काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा नीता गौतम दीक्षित, विनोद शर्मा र डीएन पराजुलीको नाम सिफारिस भएको छ । मंगलबार बसेको न्यायपरिषद्को‍ बैठकले दुई जना उच्च अदालतका मुख्य न्यायाधीश र एक जना अधिवक्ता तथा अध्यापकलाई सिफारिस गरेको हो । गौतम उच्च अदालत तुल्सीपुरकी मुख्य न्यायाधीश हुन भने शर्मा जनकपुर उच्च अदालतका मुख्य न्यायाधीश हुन् । त्यसैगरी डीएन पराजुली नेपाल ल क्याम्पसका प्रमुख हुन् ।
न्यायपरिषद्को‍ मंगलबारको बैठकले उनीहरूलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको न्यायपरिषद्‍का सदस्य तथा कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले बताए ।
न्यायपरिषद्‍ले गरेको सिफारिस संसदीय सुनुवाईले अनुमोदन गरेपछि राष्ट्रपतिबाट न्यायाधीश नियुक्त हुने प्रावधान छ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीशको दरबन्दी रहेको छ ।
हाल प्रधानन्यायाधीशसहित १९ जना न्यायाधीश रहेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा भने महाअभियोग लागेर निलम्बनमा परेका छन्।


सम्बन्धित समाचार