Logo

काठमाडौं २३ भदौ । सरकारले आर्थिक ऐन २०७९ मा संशोधन गर्दै विभिन्न वस्तुहरुमा लाग्दै आएका करका दर संशोधन गरेको छ । विद्यमान आर्थिक ऐनमा उल्लेख भएका विभिन्न दस्तुर, शुल्क, महशुल र करका दरहरु हेरफेर गरिएको हो । बिहीबार राजपत्रमा प्रकाशित विवरणअनुसार फलामको कच्चा पदार्थमा लाग्ने १० प्रतिशत भन्सारलाई ५ प्रतिशतमा झारिएको छ । स्यानिटरी प्याडको आयातमा अन्तःशुल्क लाग्ने छैन ।
बनस्पति घिउ, तेल उद्योगहरुले कच्चा पदार्थको रुपमा प्रयोग गर्ने कच्चा भटमासको तेल, कच्चा पाम तेल र सूर्यमुखी तेलको आयात गर्दा भन्सार महशुल ९० प्रतिशतसम्म छुट दिने निर्णय सरकारले गरेको छ । भटमास र सूर्यमुखीको गेडा आयात गर्दा यसअघि ५० प्रतिशत भन्सार छुट रहेकोमा अब ९० प्रतिशत भन्सार छुट दिइनेछ । त्यस्तै, तोरी, रायो, क्यानोला, सर्स्युंको दाना आयातमा ५० प्रतिशत भन्सार छुट दिइँदै आएकोमा त्यस्तो छुटलाई पनि ९० प्रतिशत बनाइएको छ ।
उद्योग विभागको सिफारिसमा अप्टिकल फाइबर केबल उत्पादन गर्ने उद्योगको कच्चा पदार्थको रुपमा रहने स्प्रिङ स्टिल वायरमा भन्सार महशुल १० प्रतिशत तोकिएको छ भने ट्विस्टेड स्ट्रान्ड वायरमा भन्सार महशुल १५ प्रतिशत तोकिएको छ । त्यस्तै सहकारी संस्थालाई कर छुट हुने बाहेकको कारोबारमा यसअघि नगरपालिका क्षेत्रभित्र ७.५ प्रतिशत, उपमहानगरपालिकाभित्र १० प्रतिशत र महानगरपालिकाभित्र १५ प्रतिशत आयकर लाग्ने व्यवस्था रहेकोमा त्यसलाई घटाई नगरपालिका क्षेत्रभित्रका सहकारीको कारोबारमा ५ प्रतिशत, उपमहानगरपालिका भित्रका सहकारीको कारोबारमा ७ प्रतिशत र महानगरपालिकाभित्रका सहकारीमा १० प्रतिशत आयकर लाग्ने व्यवस्था गरिएको छ । साभार कान्तिपुर


सम्बन्धित समाचार