Logo

नालासँगै भएको अतिक्रमण हटाउदै महानगर

वीरगञ्ज, भदौ २६ । वीरगञ्जमा व्यवस्थित ढल निकास नहुदाँ बर्षातको समयमा वीरगंजको अधिकांश भूभाग डुवानमा पर्ने गरेको छ । बढदो शहरीकरण सँगै मुख्य नालामा भएको अतिक्रमणका कारण सहजरुपमा पानीको निकास नहुदा डुवानको समस्या झेल्नु परेको हो ।
वीरगञ्जका मुख्य नाला मात्र होइन सहायक नालाहरु पनि अतिक्रमणको चपेटामा परेको देखिन्छ । अतिक्रमणकै कारण ४० फिटको नाला १७÷१८ फिटमा खुम्चिएको महानगरपालिकाका अधिकारीहरु बताउँछन् । नालाहरु माथि घर वनेका छन हटाउने तर्फ हाल सम्म कुनै पहल भएको छैन । वीरगंज महानगर पालिकाले अहिले भने मुख्य नाला तथा सहायक नाला अतिक्रमण हटाउन सूचना जारी गरेको छ ।
वि.स. २०५० सालतिर विश्व बैंकको आर्थिक सहयोगमा तीन चरणमा मुख्य नाला बनाइएको थियो । मुख्य सडक हुँदै बग्ने नाला रातो बंगला अगाडि पुगेपछि पश्चिमतर्फ मोडिन्छ । त्यहाँ श्रीपुर हुँदै आएको नालामा गएर मिसिन्छ । जिल्ला प्रशासन कार्यालय, पान गल्ली, गीता मन्दिर हुँदै क्लासिक होटलको पछाडि पुग्छ । क्लासिक होटलदेखि नाला अण्डर ग्राउण्ड बग्छ । त्यहाँबाट हरिखेतान बहुमुखी क्याम्पस, भगवती टोल, छपकैयास्थित बहीपुल हुँदै पानी प्रशोधन केन्द्रमा जान्छ । पानी प्रशोधन केन्द्रबाट प्रशोधित पानी सिर्सिया नदीमा मिसिने गरेको छ । आदर्शनगर टाउन प्लानिङको नक्सामा मुख्य नाला ४० फिटको देखिएपनि नाला आसपासका घरधनीहरुले गरेको अतिक्रमण हटाउन नसक्दा बर्षातको पानीको सहज निकास हुन सकेको छैन ।
वीरगंज महानगरपालिकाका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले आदर्श नगर निर्माण समितिले ‘टाउन प्लानिङ’ गर्दा तयार गरेको नक्सामा ४० फिटको नाला देखिएपनि अहिले १७÷१८ फिटमा खुम्चिएको बताउनु हुन्छ । उहाँका अनुसार वीरगंजको अधिकांश स्थानमा नालामाथि नै घर छ, कतै नक्सा पास गरेरै संरचना बनेको छ ।
पहिलादेखि नै भएका ढल च्याप्नु, अतिक्रमण गर्नु गैरकानुनी भएकोले महानगरपालिकाले त्यसको संरक्षणका लागि सूचना प्रकाशित गरेको सल्लाहाकार अमात्यले वताउनु भयो । मुख्य नालामाथि नै होटल, बैंक तथा शैक्षिक संस्था सञ्चालनमा छन् । मुख्य नालामाथि नै संरचनाहरु बनाइएका कारण वीरगञ्ज हरेक वर्षायाममा डुबानमा पर्ने गरेको छ ।
मुख्य नालामा भएको अतिक्रमणले गर्दा नै वर्षायाममा पानी निकास नहुने गरेको महानगरपालिकाको सरसफाई शाखाका अधिकृत सरफुदिन मियाले बताउनु भयो । ‘नाला अतिक्रमण गरेर संरचना बनाइएको छ । नालामा माटो भरियो भने निकाल्नका लागि स्काभेटर जाने ठाउँ छैन । जसोतसो माटो निकालेपनि राख्ने ठाउँ हुँदैन’, उहाँले भन्नु भयो ‘नालाको नियमित सरसफाइ गर्न नसकेकै कारण नगरबासी डुबानमा पर्ने गरेका छन् । पानीको निकास राम्ररी हुन नपाउँदा मुख्य बजार क्षेत्र आदर्शनगर नै डुब्छ ।’
केही व्यक्तिले नाला अतिक्रमण गरिदिँदा पुरै महानगरवासीले सास्ती खेप्दै आएका छन् । मुख्य सडकमा रहेको भारतीय महावाणिज्य दूतावासले समेत नाला माथि संरचना बनाएको छ । वीरगञ्ज महानगरपालिका कार्यालयले महानगरको मुख्य नालामाथि बनाइएका अवैध संरचना हटाउने तयारी थालेको छ ।
महानगरपालिकाले मुख्य नालाको निकासमा असर पर्ने गरी गरिएको अतिक्रमण हटाउने भदौ २० गते वसेको कार्यपालिका बैठकले निर्णय गरेको थियो । सोही निर्णयको आधारमा महानगरपालिकाले भदौ २३ गते सूचना जारी गरेको छ । वीरगञ्ज महानगरपालिकाबाट बिना स्वीकृति निर्माण गरिएका घर टहराहरु र अन्य संरचनाहरु ३५ दिनभित्र हटाइ सहयोग गरिदिन सूचनामा आग्रह गरिएको छ ।
अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरु नहटाइए महानगरपालिकाबाट उपलब्ध हुने सबै सेवा सुविधाहरु रोक्ने चेतावनी महानगरले दिएको छ । साथै नियम अनुसार कारबाही गर्ने र कारबाहीमा लागेको खर्च सम्बन्धित पक्षबाट नै असुल्ने महानगरले जारी गरेको सूचनामा उल्लेख छ ।


सम्बन्धित समाचार