Logo

३१ असोज, वीरगञ्ज ।
वीरगञ्ज महानगरपालिकाले आमसञ्चार प्रर्वद्धन तथा अनुगमन समितिको संयोजकमा पत्रकार ध्रुव अधिकारीलाई मनोनयन गरेको छ । महानगरपालिकाको भाद्र १६ गते वसेको कार्यपालिकाको बैठकले संयोजक पदमा अधिकारीलाई मनोनयन गर्ने निर्णय गरेको हो ।

वीरगञ्ज महानगरपालिका भित्र प्रकाशन, प्रशारणमा रहेका छापा माध्यम, एफएम रेडियो, स्थानीय टेलिभिजन र अनलाईन संचार माध्यमको प्रर्वद्धन र अनुगमन गर्नको लागि वीरगंज महानगरपालिकाको २०७८ पुष १५ गते सम्पन्न नगरसभाले ऐन पास गर्ने निर्णय गरेको थियो । तत्कालीन प्रमुख विजय कुमार सरावगीले २०७८ पुष २१ गते प्रमाणित गरि राजपत्रमा प्रकाशित भएपछि उक्त ऐन कार्यान्वयनमा आएको हो ।

ऐन कार्यान्वयनमा आएपछि तत्कालीन कार्यपालिकाले सामुदायिक रेडियो प्रसारक संघका पूर्व महासचिव गोविन्द देवकोटा संयोजक रहने गरी ९ सदस्यीय आम सञ्चार प्रर्वद्धन तथा अनुगमन गठन गरेको थियो । समितिमा पत्रकार महासंघका केन्द्रिय सदस्य केसी लामिछाने, पत्रकार रामनारायण कुर्मी, बृजलाल पासवान र पत्रकार महासंघ पर्साका उपाध्यक्ष सुस्मा शर्मालाई मनोनयन गरेको थियो । पदेन सदस्यको रुपमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष र महानगरपालिकाका कानुन अधिकृत, लेखा अधिकृत, सामान्य प्रशासन महाशाखाका प्रमुख र प्रकासन, प्रशारण तथा सूचना शाखाका प्रमुख सदस्य सचिव रहने ऐनमा व्यवस्था गरिएको छ ।

समितिका संयोजक गोविन्द देवकोटाले २०७९ बैशाख ७ गते राजीनामा दिएपछि रिक्त रहेको संयोजक पदमा अधिकारीलाई मनोनयन गरिएको हो ।

समितिलाई स्थानीय सरकारवाट सञ्चार माध्यमको संरक्षण, विकास, प्रबद्र्धन र नियमन गर्ने, स्वतन्त्र, व्यावसायिक र जनउत्तरदायी मिडियाको संस्थागत विकासका लागि १०० वाटसम्मका एफएम रेडियो, केवल टेलिभिजन र स्थानीय तहवाट प्रकाशन हुने पत्रपत्रिका लगायतका सञ्चार माध्यमको स्वतन्त्र र निष्पक्षरूपमा अभिलेखिकरण, इजाजत तथा नियमन गर्न ऐनमा व्यवस्था गरिएको छ ।

त्यसैगरी वीरगञ्ज महानगरभित्रका सम्पूर्ण जनसमुदायमा आम सञ्चार माध्यमको पहुंच स्थापित गर्न स्थानीय सञ्चार माध्यममा लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने, वीरगञ्ज महानगरपालिकामा सञ्चालित सञ्चार माध्यमको वर्गीकरण गर्ने, वीरगञ्ज महानगरपालिकामा सञ्चालित सञ्चार माध्यममा कार्यरत पत्रकारहरुलाई प्रेस प्रतिनिधि प्रमाणपत्र उपलब्ध गराउने, वीरगञ्ज महानगरपालिकामा पत्रकारिताको संस्थागत विकास र श्रमजीवी पत्रकारहरुको हितका पक्षमा अन्य आवश्यक कार्यहरु गर्न ऐनमा स्पष्ट व्यवस्था गरिएको छ ।

तत्कालीन नगर प्रमुख विजय कुमार सरावगीले वीरगञ्जका संचारमाध्यमको प्रर्वद्धनका लागि लोककल्याणकारी विज्ञापन लगायतका शिर्षकमा करिव एक करोड पचास लाख रकम विनियोजन गरेका थिए । समितिमा संयोजक नभएको कारण विगत तीन महिना देखि यहाँका संञ्चार माध्यमले लोककल्याणकारी विज्ञापनको भुक्तानी समेत पाउन सकेका छैनन् ।


सम्बन्धित समाचार