Logo

१७ मंसिर, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आफ्नै नेतृत्वमा सरकार गठनका लागि विभिन्न विकल्पहरू खुला राख्ने निर्णय गरेको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकले सरकार गठनका लागि सत्ता गठबन्धन सहित गठबन्धन बाहिरका दलहरूसँग छलफल गरेर अघि बढ्न सकिने निर्णय गरेको छ ।

माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले सरकार गठनबारे विभिन्न विकल्पहरू खुला राखिएको बताए । उनले हाललाई गठबन्धन कायमै राख्नेगरी सरकार बनाउने सवालमा एमाले सहित अन्य सानादलसँग संवाद गर्ने निर्णय गरेको जानकारी दिए ।

बैठक पछि उपाध्यक्ष महराले सञ्चारकर्मीसँग भने “अहिलेनै सत्ता गठबन्धन छोड्ने निर्णय गरिएको छैन । र, अन्य विकल्प पनि खुला राखिएको छ । विभिन्न विकल्पमा जान सकिन्छ । तर, पुरानो गठबन्धनलाई छोड्ने, तोड्ने निर्णय पनि गरिएको छैन ।”

बैठकमा नेताहरूले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम अपेक्षा अनुसार नआएको टिप्पणी गरेका थिए ।

माओवादी केन्द्रले पार्टी अध्यक्ष दाहाल दाहाललाई प्रधानमन्त्री बनाउन सत्तारुढ गठबन्धनमा दबाब पुग्ने निष्कर्षसहित सरकार गठनका लागि एमालेसहितका अन्य विभिन्न दलहरूसँगको विकल्पलाई पनि खुला राख्ने रणनीति लिएको बताइएको छ ।

पदाधिकारी बैठक पुनः बोलाइएको र त्यसले निर्वाचनको समग्र विषयमा समीक्षा गरेर अघि बढ्ने निर्णय लिने पार्टीका महासचिव देवप्रसाद गुरुङले बताए ।


सम्बन्धित समाचार