Logo

वीरगञ्ज २३ भदौ । वीरगञ्जमा मधेश विश्वविद्यालय स्थापना भएको छ । बुधबार मधेश प्रदेश सरकारको अगुवाइमा वीरगञ्जमा भव्य कार्यक्रमको आयोजना गरेर मधेश विश्वविद्यालय स्थापना गरिएको हो ।
विश्वविद्यालयको उपकुलपतिमा वीरगञ्ज पब्लिक क्याम्पसका सञ्चालक प्राध्यापक डाक्टर दिपक शाक्यलाई नियुक्त गरिएको छ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पूर्व उप प्रधानमन्त्री उपेन्द्र यादवले बुधवार विश्वविद्यालयको उदघाटन गरेका हुन ।
मधेशमा उच्च शिक्षाको विकासका लागि मधेश विश्वविद्यालय कोशेढुंगा सावित हुने उनले विश्वास व्यक्त गरिएको हो । वीरगञ्जमा पहिलेदेखि नै विश्वविद्यालय स्थापनाका लागि प्रयास हुँदै आएको थियो । तर सरकारले स्वीकृति नदिंदा सार्थकता पाउन सकेको थिएन । मधेश सरकारले त्यो सपना पूरा गरिदियो वीरगञ्ज पब्लिक क्याम्पसका सञ्चालक प्राध्यापक डाक्टर दिपक शाक्यले बताए ।
होटल भिस्वामा आयोजित एक समारोहबीच उनले उद्घाटन गर्दै मधेस विश्वविद्यालय विगत लामो समयदेखि मधेसीहरूको सपना रहेकोमा अब त्यो सपना साकार भएको बताए । यसले मधेसमा चाहिएको शिक्षामा आधारित रहेर पाठ्यक्रम निर्माण गर्ने र दक्ष जनशक्ति उत्पादन गरी आर्थिक, सामाजिक, राजनीतिक रूपान्तरणका लागि मधेसको शिक्षामा महवपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । मधेसको सात दशकदेखिको सपना आज पूरा भएको छ –उनले भने ।
मधेस प्रदेशका आठ जिल्ला र राज्यभरका विद्यार्थीहरूको लागि सेवा क्षेत्र रहेको मधेस विश्वविद्यालय सङ्घीयतापछिको ठूलो उपलब्धि भएको चर्चा गर्दै उनले चाँडै यसको भौतिक संरचना तथा पाठ्यक्रम निर्माण गरी काम शुरू हुने उनले बताए । मधेस विश्वविद्यालयका उपकुलपति प्रा. डा दिपक शाक्यले विश्वविद्यालयको लागि पर्साको ग्रामीण भेगमा १० बिघा जग्गामा भौतिक संरचना निर्माण गर्ने र आवश्यक तयारी ५ वर्षमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।
जग्गा खरीदको लागि १ अर्ब लगानी गर्ने दाता पनि भेटिसकेको र थप लगानी केन्द्र सरकार, प्रदेश सरकार तथा स्थानीय तहबाट समन्वय गरी अगाडि बढ्ने योजना रहेको बताए । वीरगञ्ज, मुर्लीमा रहेको नेशनल ट्रेडिङभित्र कार्यालय स्थापना गरिएको छ । यसको बिहीवार बिहान औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ ।
कार्यक्रममा बोल्दै शिक्षाविद्हरूले विश्वविद्यालय स्थापना भएकोमा खुशी व्यक्त गर्दै आगामी दिन निकै जटिल हुने बताएका थिए । पूर्वाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपति प्रा डा रामअवतार यादवले विश्वविद्यालय स्थापना गर्नु खुशीको कुरा हो तर यसले मधेसको पहिचान र यहाँको शिक्षाको आवश्यकता सम्बोधन गर्न पाठ्यक्रम बनाएर अघि बढ्नुपर्ने सुझाव दिए । मधेस प्रदेश सरकारका सामाजिक विकासमन्त्री एवं मधेस विश्वविद्यालयका उपकुलपति नवलकिशोर साहको अध्यक्षतामा भएको कार्यक्रममा वन तथा वातावरणमन्त्री प्रदिप यादव, विश्वविद्यालयका कुलपति एवं मधेस प्रदेस सरकारका मुख्यमन्त्री लालबाबू राउत, वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलगायत विभिन्न राजनीतिक दलका नेता, बौद्धिक समाज, सुरक्षा अधिकारीलगायतको सहभागिता थियो ।


सम्बन्धित समाचार