Logo

१० चैत, वीरगञ्ज । सरकारले बसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षक (आइजिपी)मा नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले वरीयता र कार्यक्षमताका आधार उनलाई आइजिपी नियुक्त गरेको हो ।

आजबाट प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह अवकाशमा जाँदै छन् । उनको अवकाससँगै पाँचजना एआईजीहरुको आईजीपी बन्न प्रतिष्पर्धा रहेको थियो । जसमा कुँवर प्रहरी आइजिपी नियुक्त भएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले जानकारी दिए ।

आठ महिनाको अवधिमा तीन तह बढुवा हुँदै कुँवर नेपाल प्रहरीको ३०औं प्रहरी महानिरीक्षकमा नियुक्त भएका हुन् उनी २०५१ सालको ५ चैतमा प्रहरी निरीक्षक पदबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । गत असारमा डिआइजी भएका उनी सोमबार मात्र एआइजीमा बढुवा भएका थिए ।

गृह मन्त्रालयले ८ असारमा पहिलो नम्बरमा डीआईजी बढुवा गरेपछि कुँवर वरियतामा अगाडि आएका थिए । एआईजी बढुवासम्म आइपुग्दा उमेर विवादका कारण अर्का दाबेदार अशोक सिंहले राजीनामा दिएपछि उनी महानिरीक्षकका लागि बलियो प्रतिष्पर्धी बने ।

कुँवर प्रहरी नायब महानिरीक्षक छँदा मधेश प्रहरी प्रमुख थिए । एसएसपी छँदा उनले उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व समेत गरेका थिए ।

अर्घाखाँचीका कुँवरले शंकरदेव कलेज काठमाडौंबाट स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन् । उनी प्रहरीभित्र हक्की स्वभावका व्यावसायिक अधिकृत मानिन्छन् ।


सम्बन्धित समाचार