Logo

१३ मंसिर, वीरगञ्ज । वीरगञ्ज छपकैया निवासी निर्माण व्यावसायी नुरेनबी ठकुराईले वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले राजनीतिक प्रतिशोधको भावनाले आफूले महानगरबाट पाउनुपर्ने भुक्तानी रोकोको आरोप लगाएका छन् ।

ठकुराईले आज पत्रकार सम्मेलन गरेर महानगरपालिकाका प्रमुख सिंह आफूबीच पहिलेदेखि नै सम्बन्ध राम्रो भएपनि स्थानीय तहको निर्वाचनमा सिंहलाई असहयोग गरेको आरोप लगाउदै आफूलाई राजनीतिक प्रतिशोधकै कारण भुक्तानी रोकेको बताएका हुन ।

नेपाल पत्रकार महासंघको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा निर्माण व्यवसायी ठकुराईले वीरगन्ज महानगपालिकाबाट कब्रिस्तानको कम्पाउण्ड वाल र माटो पुर्ने कामको धरौटी बापतको रकम कट्टा गरेर पाउनुपर्ने बाँकी एक लाख ८९ हजार ४१५ रुपैंया नगर प्रमुख सिंहको आदेशमा आफूले फिर्ता नपाएको गुनासो गरेका छन ।

नगर प्रमुख सिंह र ठकुराईबीच लामोसमयदेखि विवाद हुदै आएको छ । उनले आफूले पाउनुपर्ने भुक्तानी वीरगन्ज महानगरपालिकाले अहिलेसम्म नगरेकोले पीडित भएर पत्रकार सम्मेलन गर्नुपरेको बताए । पीडित ठकुराईका अनुसार वीरगन्ज महानगरपालिकाको आर्थिक बर्ष २०७८÷०७९ को बजेट नीति तथा कार्यक्रम अन्तर्गतको नगर स्तरीय बजेटबाट खर्च हुनेगरी वीरगन्ज महानगरपालिकाको वडा नम्बर ३ मा रहेको कब्रिस्तानमा कम्पाउण्डवाल तथा माटो पुर्ने कामको लागि ११ लाख १० हजार ७४५ रुपैंयाको लागत अनुमान स्वीकृत भई फुलकी उपभोक्ता समिति वीरगन्ज ३ ले १० प्रतिशत लागत सहभागिता बापत व्यहोर्ने गरी सम्झौता गरेको थियो ।

वीरगन्ज महानगरपालिकाले व्यहोर्ने ९० प्रतिशतले हुन आउने ९९ लाख ९ हजार ६७१ रुपैंया र उपभोक्ता समितिले गरेको कामको नाप जाँच गरी दोश्रो तथा अन्तिम बिल बनेको ११ लाख ८ हजार १ सय ४८ बाट प्रथम रनिङ्ग बिलको ८ लाख ८६ हजार ६१० कट्टा हुने गरी बाँकी रकम २ लाख २१ हजार ५३८ रुपैंयामा उपभोक्ता समितिले व्यहोर्ने २२ हजार १५३ कट्टा गरी १ लाख ९९ हजार ३८४ बाट फेरी ५ प्रतिशत हुन आउने ९ हजार ९ सय ६९ रुपैंया धरौटी रकम कट्टा गरी बाँकी हुन आउने १ लाख ८९ हजार ४१५ रुपैंया फुलकी उपभोक्ता समितिलाई भुक्तानी दिनुपर्ने सम्झौतामा उल्लेख गरिएको र महानगरपालिकाकाले पनि भुक्तानी दिन मुनासिब देखिएको टिप्पणी उठाएर आदेश गरेपनि नगर प्रमुखको राजनीतिक प्रतिशोधको भावनाका कारणले आफूले पाउनुपर्ने रकम नपाएको ठकुराईले बताए ।

महानगर प्रमुख ठकुराईले आफूलाई नचिन्ने अभिव्यक्ति दिएको प्रति आश्चार्य व्यक्त गर्दै कुनै समयमा सिंह र ठकुराईको पारिवारिक सम्बन्ध जस्तै भएपनि अहिले आएर नगर प्रमुख सिंहले गरेको व्यवहारले आफू दुखी भएको ठकुराईको भनाई छ ।


सम्बन्धित समाचार