Logo

२७ पुस, वीरगन्ज । वीरगञ्ज महानगरपालिकासँग ठेक्का सम्झौता नभएको स्वछन्द युनाईटेड बिल्डर्स जेभीले भेडाहा नदीबाट डोजर प्रयोग गरी गिटी बालुवा उत्खन गरेको छ । नगर प्रमुख राजेशमान सिंहको मौखिक निर्देशनमा उक्त कम्पनीलाई दुई दिनको लागि गिटी बालुवा निकाल्न अनुमति दिइएको बताइएको छ ।

महानगरपालिकाको वडा नम्बर ३१ स्थित भेडाहा खोलाबाट श्री स्वछन्द युनाईटेड बिल्डर्स जेभीले बालुवा गिटी निकाल्न डोजरको प्रयोग गरेको हो । भेडाहा खोलाको भने ठेक्का स्वछन्द युनाईटेड बिल्डर्स जेभीले लिएको छैन । वीरगञ्ज महानगरपालिकाले २ दिन भित्रमा १५ टिपर बालुवा उठाउने गरी राजश्व लिएर स्वछन्द युनाईटेड बिल्डर्स जेभीलाई अुनमति दिएको थियो ।

पुसको २५ र २६ गतेको लागि १५ टिपर मात्र निकाल्न अनुमति लिएको स्वछन्द युनाईटेड बिल्डर्स जेभीले दैनिक ५० टिपर गिटी बालुवा उठाएको छ । उसले दुई दिनमा झण्डै एक सय टिपर गिटी बालुवा झिकेको भेडाहा खोलामा गिटी लोड गर्दै गरेका एक मजदुरले बताए ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडलले जेसीभी प्रयोग गरेर बालुवा निकाल्न नभनेको बताए । उनले तोकिएको भन्दा बढी झिकेको भए आज अनुगमन गर्ने र उ माथि कार्वाही गर्ने पौडेलको भनाई थियो । वीरगञ्ज महानगरपालिकाभित्र सघन शहरी कार्यक्रम अन्तरगत शहरी डिभिजन कार्यालय मार्फत १७ वटा रोड र नाला निर्माणको लागि १५ टिप बालुवा निकाल्न श्री स्वछन्द युनाईटेड बिल्डर्स जेभीले राजश्व तिरेर अनुमति दिएको प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताए ।

पुस २५ र २६ गते दुई दिन भित्रमा निकाल्ने गरि महानगरको राजश्व शाखाबाट अनुमति पाएको कम्पनीले डोजर प्रयोग गरेर खोलाबाट बालुवा उत्खन्न गरेको थियो । कम्पनीले पाएको स्विकृति पत्रमा भने बालुवा निकाल्नको लागि के प्रयोग गर्ने भन्ने बारे केही उल्लेख गरिएको छैन । यस्तै टयाक्टरको टिप वा टिपरको टिप भन्ने बारेमा समेत केही खुलाइएको छैन ।यधपि डोजर प्रयोग गरेर टिपरको टिपमा कम्पनीले बालुवा निकालेको हो ।

डोजरको प्रयोग गरेर पाँच फिट भन्दा बढी गहिराई गरेर कम्पनीले बालुवा निकालेको हो । बालुवा निकाल्ने बेलामा भने त्यहाँ वीरगञ्ज महानगरका कुनै पनि आधिकारिक प्रतिनिधी समेत खटाइएको थिएन । यता वीरगञ्ज् महानगरपालिकाका राजश्व शाखाका प्रमुख मनोज कर्णले डोजर लगाउन नपाउने बताए । उनले बिकाश निर्माणको कामहरु रोकिएको भएर १५ टिप बालुवा निकाल्नको लागि अनुमति दिएको बताए ।‘

डोजर प्रयोग गरेर बालुवा निकालेको त मलाई थाहा छैन लोड गर्नको लागि डोजर प्रयोग गरेको हुनसक्छ, तरपनि डोजर प्रयोग भए नभएको बारेमा म एकचोटि बुझने,उनले भने ।

भेडाहा खोलाको ठेक्का भईसकेको बताउदै कर्णले अब चाँडै खोलाबाट बिधिवत रुपमा नदीजन्य पदार्थ उत्खन्नको लागि समझौता हुने जानकारी समेत दिए ।भेडाहा खोला भने समयमा ठेक्का नलाग्दा त्यहाँबाट दैनिक सयौ टयाक्टर गिटी बालुवाको तस्करी हुदै आएको छ ।

वीरगञ्ज महानगरपालिकाले भेडाहा खोलाको ठेक्का सम्झौता गर्न ७ दिनको सूचना जारी गरिसकेको छ । कलैया स्थित अंकित कन्टक्सनलाई ७२ लाख रुपियाँमा उक्त ठेक्का दिइएको राजश्व महाशाखाका प्रमुख मनोज कर्णले बताए ।


सम्बन्धित समाचार